सरकारमा सहभागी हुने गच्छदारको तयारी, आज संयुक्त बैठक

काठमाडौं, २५ वैशाख –

नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी हुने तयारीमा जुटेको छ । विजय कुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले सरकारमा सहभागी हुने विषयमा टुंगो लगाउन केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

पार्टी कार्यालय तिनकुनेमा बिहान ११ बजे बस्ने बैठकमा सरकारमा सहभागी हुने विषयमा टुंगो लगाइने फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले जानकारी दिनुभयो ।

चौधरीले सरकारले संविधान संशोधन, प्रदेशको सीमाकंन, स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सुनिश्चितता र टिकापुर घटनामा बन्दी बनाइएकाहरुको रिहाई तथा घटनाका पीडितहरुलाई क्षतिपूर्ति दिनेबार सरकारले स्पष्ट खाका प्रस्तुत गरे आजै सरकारमा सहभागी हुन सक्ने बताउनुभयो ।

चौधरीले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग चारवटा मन्त्रालय माग गरेको जानकारी दिनुभयो । लोकतान्त्रिक फोरमले उपप्रधानमन्त्रीसहित संघीय मामिला तथा स्थानीय विकाससहित चार मन्त्रालय पाउनु पर्ने माग अघि सारेको छ ।