जुम्लामा विक्री भएनन् स्याउका बिरुवा, किसानले जलाए ६ हजार बिरुवा

जुम्लामा विक्री भएनन् स्याउका बिरुवा, किसानले जलाए ६ हजार बिरुवा || स्याउका बिरुवा
फाईल तस्विरमा : स्याउका विरुवा

काठमाडौं,बैशाख,२१-जुम्लामा स्याउका बिरुवा विक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् । 

पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा  २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बिरुवा बेचेरै वर्षमा रू. २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ । यस वर्ष बिरुवा विक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए । 

बुढालाई जस्तै तातोपानी गाउँपालिकाका जीवलाल न्यौपानेलाई पनि स्याउको बिरुवा विक्री नहुँदा समस्या भएको छ । ‘९ हजार बिरुवा उत्पादन गरे, हालसम्म एउटा पनि विक्री भएन’, उनले भने ।  

कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीका अनुसार जिल्लाभरि ११० स्याउका नर्सरी दर्ता छन्  । केही किसानले दर्ता नगरेरै पनि नर्सरीमा स्याउका बिरुवा उत्पादन गरिरहेका छन्  । अधिकांश किसानले उत्पादन गरेको बिरुवा विक्री हुन नसकेको उनी बताउँछन् ।

यसअघि जिल्लामा उत्पादित स्याउका बिरुवा मुगु, बझाङ, बाजुरा, डोल्पा, अछाम, हुम्लालगायत जिल्लामा विक्री गर्ने गरिएको थियो । जुम्लामा तीन हजार ४५० हेक्टरमा स्याउ खेती भइरहेको छ । रासस