गोली हानेर गहना लुट्ने २ पक्राउ

लुटिएका सुन गालेर अर्कै बनाएको भेटियो

चितवन,असार,१२-
पश्चिम चितवनको शुक्रनगरमा जेठ ४ गते गोली हानी भएको लुटपाट घटनामा चोरिएका सामान सहित २ जना पक्राउ परेका छन्। लुटिएका गहनाहरु गालेर अर्कै गहना बनाइएको अवस्थामा गरगहना सहित २ जनलाई पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

उनका अनुसार अर्का एकजना पर्वत घर भइ दिव्यनगर ससुरालीमा बस्ने कृष्ण शाही ठकुरी फरार रहेको उनी भारतमा रहेको बुझिन आएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा नवलपरासी मध्यविन्दु नगरपालिका १० अरुण खोलाका लक्ष्मण परियार र सोही ठाउँका नारायण विक रहेका छन्।

पक्राउपछि सोमबार प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै थापाले उनीहरुबाट नगद, गरगहना, हम्मर, खुकुरी ,रड, चक्कु लगायत बरामद गरिएको जानकारी दियो। भरतपुर महानगर वडा नम्बर २५ स्थित शुक्रनगरमा जेठ ४ गते पेस्तोलको प्रयोगगरी हम्बर र रडले हानेर लुटपाट गरी फरार भएका थिए।

आक्रमणमा परी एकै घरका ४ जना घाइते भएका थिए। मध्यराती माक्स लगाएर पुगेका तीन जनाको समुहले भरतपुर महानगर वडानम्बर २५ स्थित एकान्तमा रहेको स्थानिय गंगासागर महत्तोको घरमा आक्रमण गरेको हो।

गोली लागेर घाइते भएका स्थानीय २५ वर्षका गंगासागर महत्तोको पछि उपचारको क्रममा मृत्यु भैसकेको छ। उक्त समयमा हम्मर र रडले हानेर गंगासागरकी आमा साउनी महत्तो, बहिनी रामकुमारी महत्तो र श्रीमती कुन्ती महत्तो घाइते भएका थिए।

लुटेराले घरमा रहेको सुनको औंठी, बाला, सिक्री, र केही पैसा लुटेर लगेका थिए। त्यो लुटेका गरगहनाबाट उनीहरुले पंचरत्नबाला, सिक्री, कानमा लगाउने टप,मुन्द्रा, सुनको ठिक्का बनाएको पाइएको प्रहरी प्रमुख थापाले बताए। उनीहरुबाट ८३ हजार १४० रुपैयाँ नगद सहित लुटपाटमा प्रयोग भएका सामाग्री तथा गरगहनाहरु समेत बरामद गरिएको छ।