आज महाशिवरात्रि पर्व देशभर मनाईदै

काठमाडौं,फागुन,९-फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदै छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुन्ड र तलाउमा स्नान गरी शिवालयमा गइ श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् ।

पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिको विशेष महत्व छ ।

आज भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भइ यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाइ भजन–कीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ ग्रहण गर्ने गरिन्छ ।

यसैबीच, आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारओटै ढोका खोलिएका छन् भने दर्शनार्थीलाई चारओटा लाइनबाट मन्दिरसम्म पुग्ने व्यवस्था मिलाइएको छ ।

दर्शनार्थीको सहयोगका लागि ठूलो संख्यामा स्वयंसेवक, नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा खटाइएको छ । पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ ।