विमल घर्ति मगरको निर्णायक गोलमा मछिन्द्रलाई सताक्षी गोल्डकपको उपाधि

काठमाण्डौं,फाल्गुन,११-सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि जितेको छ। 

झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा आइतबार भएको फाइनलमा थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र च्याम्पियन बनेको हो ।

मछिन्द्रको जितमा विमल घर्ति मगरले निर्णायक गोल गरे । खेलको दोस्रो मिनेटमा विमलले पेनाल्टीमा गोल गरेका थिए ।

थ्री स्टारका अशोक खवासले सोमिडे एडिलाजालाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा विमलले गोल गरेका थिए । 

उपाधिसँगै मछिन्द्रले ६ लाख प्राप्त गरेको छ । उपविजेता थ्री स्टारले ३ लाख प्राप्त गर्यो ।

यससँगै मछिन्द्रले लिग जितेको एक साता नबित्दै दोस्रो उपाधि जितेको हो ।

मछिन्द्रले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी तथा लिग उपविजेता त्रिभुवन आर्मी क्लबलाई २-० ले हराएको थियो ।

थ्री स्टारले भने आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३-१ गोल अन्तरले हराएको थियो ।खेलपाटीबाट