लोकतान्त्रिक गठबन्धनको घरदैलो र चुनावी सभा व्यापक बन्दै

नेपालगञ्ज,मंसिर,११-
मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन आउन १० दिन मात्र बाँकि रहँदा बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको घरदैलो र चुनावी सभा व्यापक बन्दै गएको छ । आफ्नो पक्षमा माहोल बनाउन आफूहरु अहोरात्र खटिएको उम्मेदवारहरुले बताएका छन् । उम्मेदवारहरुले चुनावी सभा, कोणसभा र घरदैलो मार्फत् प्रचारप्रसारलाई आक्रामक बनाएका हुन् ।

लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री आज पनि दिनभर(सोमबार) विनौना र बैजापुर क्षेत्रमा घरदैलोमा व्यस्त रहनुहुने प्रचारप्रसार सचिवालय सदस्य लुट बहादुर खत्रीले जानकारी दिनुभयो । प्रदेशसभा १ क का उम्मेदवार शरदचन्द्र बर्मा पनि खत्रीसंगै घरदैलोमा हुनुहुन्छ ।

प्रदेशसभा १ ख का उम्मेदवार नारायण गौडेलले आज (सोमबार) कोहलपुर नगरपालिका वडा नम्बर ९ को झण्डहवामा घरदैलो गरिरहनुभएको सचिवालय संयोजक भूम भण्डारीले बताउनुभयो ।प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजाद र प्रदेश सभा २ क का उम्मेदवार निरन्जनसिंह सिंजापति आज (सोमबार) बसुदेवपुर र बनकट्टीमा आयोजित कोणसभा र घरदैलोमा व्यस्त रहने लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन कमिटिले जनाएको छ ।

त्यस्तै आजाद र प्रदेशसभा २ ख का उम्मेदवार सुरेन्द्र हमाल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ र नेपालगञ्जकै गडियनपुर क्षेत्रमा प्रचारप्रसारमा रहने राप्रपाका नेता ऋषिराज देवकोटाले बताउनुभयो । वडा नम्बर ९ मा सम्पर्क कार्यालय उद्घाटन गर्ने कार्यक्रम पनि रहेको देवकोटाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारु आज (सोमबार) वनकटुवा र नौवस्तामा आयोजित कोणसभा र घरदैलो तथा प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाह र कुर्मी खजुराखुर्दमा आयोजित कोणसभा र घरदैलोमा व्यस्त रहेको प्रचारप्रसार सचिवालय संयोजक रमेश सिंजालीले बताउनुभयो ।