सुलेमानीको अन्त्येष्टीमा भागदौड हुँदा-कम्तिमा ३५ जनाको मृत्यु

काठमाडौं,पुस,२२-अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिमा भाग लिन गएकाहरुबीच भागदौड मच्चिँदा कम्तिमा ३५ जना मारिएका छन् ।

बीबीसीका अनुसार अरु दर्जनौं घाइते भएका छन् । गत शुक्रबार इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका सुलेमानीको गृहनगर केरमान शहरमा आयोजित अन्त्येष्टीमा मानवसागर नै उर्लेको थियो ।

अन्त्यष्टीमा सहभागी हुन देशका विभिन्न स्थानबाट लाखौंको संख्यामा मानिस आउँदा भीड बढेको थियो । सोही भीडमा भागदौड मच्चिँदा मानिसहरु किचिएरै मरेका हुन् ।

यसअघि तेहरानमा गरिएको श्रद्धाञ्जलीमा पनि मानिसको उत्तिकै भिड लागेको थियो ।

मानिसहरूले सुलेमानीको तस्बिर र रातो झण्डा बोकेका थिए। भेला भएकाहरुले अमेरिकाविरुद्ध नाराबाजी पनि गरेका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

इरानले सुलेमानीको हत्याको प्रतिशोध लिने उद्घोष गरिसकेको छ। उनको शवलाई शहीदका लागि बनाइएको एउटा चिहानमा समाधिस्थ गरिँदैछ।ईमेजखबरबाट