नेपालीसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि नागरिकता दिने नेकपा निर्णय

काठमाण्डौं,असार,६-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले  नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने  निर्णय गरेको छ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नेपालीसँग बिहे गर्ने  विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको हाे।

नेपालीसँग विवाह गरेको ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने र त्यतिबेलासम्मका लागि स्थायी आवासीय प्रमाणपत्र दिने व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिनुभयो।

‘नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाले ७ वर्ष देशभित्र बसेको पुष्टि भएपछि विदेशमा रहेको आफ्नो नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारवाही चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालेको श्रेष्ठले बताउनुभयो ।

त्यस्ता विवाहित व्यक्तिले विहेपछि सात वर्षसम्म सामाजिक, आर्थिक, साँस्कृतिक सम्पूर्ण अधिकार हुनेगरी आवासीय परिचयपत्र प्रदान गर्ने प्रावधान कायमै रहेकोले सोहिअनुसार हुने उहाॅले प्रष्ट पार्नुभयो ।हाल नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले तत्कालै नेपालको अंगीकृत नागरिकता पाउने व्यवस्था छ।