सर्वोच्चको आदेशः धुलोधुँवा नउड्ने गरी निर्माण गर्नू

काठमाडौँ, माघ १८-सर्वोच्च अदालतले धुलोधुँवा नउड्ने गरी भौतिक निर्माण कार्य गर्न(गराउन सरोकारवाला निकायहरूलाई आदेश दिएको छ। न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलासले सोमबार उपत्यकाका काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुर नगरपालिका, खानेपानी तथा ढल निकास विभाग र काठमाडौं उपत्यका खानेपानी लिमिटेडसमेतको नाममा यस्तो अन्तरिम आदेश जारी गरेको हो।

धुलोधुँवा नउड्ने गरी तदारूकतासाथ निर्माण कार्य सम्पन्न गराउने सन्दर्भमा आइपर्ने व्यवधान फुकाउनेसहित साधन जुटाउने, अनुगमन र निरीक्षण गर्ने गराउनेतर्फ तत्काल कार्य गर्न गराउन’, सर्वोच्चले जारी गरेको अन्तरिम आदेशमा उल्लेख छ।

उपत्यकाभित्र निर्माणाधीन विभिन्न आयोजनाहरूबाट निस्कने धुलो धुवाँका कणबाट वायु प्रदूषण भई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने संविधानप्रदत्त मौलिक हक कुण्ठित भएको भन्दै वातावरणीय विकास तथा कानुन मञ्चका संस्थापक अध्यक्ष अधिवक्ता पद्मबहादुर श्रेष्ठले यही माघ १० गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। साभार नेपाल खबरबाट