सूचना प्रविधि विधेयक तत्त्काल फिर्ता लिन अन्तर्राष्ट्रिय पत्रकार महासंघको सरकारलाई आग्रह

काठमाडौं,पुस,२२-अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईइफजे) ले हाल संसदमा रहेको सूचना प्रविधि विधेयक तत्त्काल फिर्ता लिन नेपाल सरकारलाई आग्रह गरेको छ ।

आईएफजेका महासचिव एन्थोनी बेलान्गरले विवादास्पद विधेयक फिर्ता लिई प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता हुने गरी वृहत्तर छलफल गरी नयाँ शिराबाट विधेयकको काम अगाडी बढाउन नेपाल सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

सरकारले ल्याएको विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई नजरअन्दाज गरेको भन्दै आईएफजेले नेपाल सरकारले ल्याएको विधेयकका प्रावधानप्रति आफू र आफुसँग आवद्ध रहेका नेपालको पत्रकार महासंघ र प्रेस युनियनले गम्भीर निन्दा रहेको उल्लेख गरेको छ ।

संविधानले प्रत्याभूत गरेको नेपाली नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको भावना विपरित नहुने गरी पारित गर्न उसले नेपालको संसदलाई आग्रह पनि गरेको छ ।

विधेयकमा रहेको १५ लाखसम्म जरिवाना र पाँच वर्षसम्म जेल हुने, सामाजिक सञ्जालका माध्यमहरुलाई नेपालमा अनिवार्य दर्ता गर्नुपर्ने अन्यथा बन्द गरिने जस्ता व्यवस्थाप्रति पनि आईएफजेले चासो व्यक्त गरेको छ ।

पत्रकार महासंघ र नेपाल प्रेस युनियनले जनाएका आपत्तिहरुलाई उधृत गर्दै आईएफजेका महासचिव एन्थोनी बेलान्गरले आफ्नो प्रेस वक्क्तव्यमा भनेका छन्, ‘अनलाइन सुरक्षाको नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने र आलोचनात्मक आवाजहरुलाई बन्द गराउने चाल सरकारले चलिरहेको अर्को उदाहरणका रुपमा सूचना प्रविधि विधेयक एउटा रहेको छ ।’

उहाँले अगाडी भन्नुभयो , ‘अहिले भइरहेका सबै प्रयास तत्काल रोकेर सम्पूर्ण सरोकारवालाहरुसँग वृहत्तर छलफल गरी प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका साथ अर्को विधेयक ल्याउन हामी सरकारलाई आह्वान गर्दछौं ।ईमेजखबरबाट साभार