बाँकेका ग्रामीण क्षेत्रमा क्यान्सर रोग बारे चेतनामुलक अभियान शुरु

ज्ञानु सङ्गम खड्का/
नेपालगन्ज,जेष्ठ,२५-

बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले ग्रामिण क्षेत्रमा क्यान्सर रोगका बिषयमा सचेतना फैलाउन सुरु गरेको छ ।रोगको पहिचान नभएर उपचार नै नपाई अकालमा ज्यान गुमाइरहेको अवस्थामा क्यान्सर अस्पतालले यस्तो अभियान शुरु गरेको हो । ग्रामिण क्षेत्रसम्म क्यान्सर रोगका बिषयमा सचेतना फैलाउने उदेश्यले आज बाँकेका स्वयंसेविकाहरुलाई प्रशिक्षण दिइएको छ ।

आठवटा स्थानीय तहका प्रत्येक वडाका स्वयंसेविकालाई बरिष्ठ चिकित्सक डा. किशोर प्रधानाङ्ग, विश्वराम पौडेल लगायतको टिमले क्यान्सर रोग, लाग्नुको कारण, उपचार गर्ने उपयायहरु लगायतका बिषयमा प्रशिक्षण दिनुभएको छ । ‘समयमै रोग पत्ता नलागेर धेरै क्यान्सर रोगीहरु उपचार नै नपाएर मर्नु पर्ने अवस्था छ ।अब स्वयंसेविका मार्फत हामी क्यान्सर रोगका बिषयमा गाउँ—गाउँसम्म जानकारी गराउने डा. प्रधानाङ्गको भनाइ थियो ।

तालिमको उद्घघाटन गर्दै अस्पतालका अध्यक्ष किस्मतकुमार कक्षपतिले असार महिनाबाट अस्पताल सन्चालन हुन लागेको भन्दै अस्पताल सन्चालन पछि यस क्षेत्रमा उपचार सहज हुने बताउनुभयो ।
भोली क्यान्सर अस्पताल परिसर खजुरामा निःशुल्क स्वास्थ्य परिक्षण र आईतबार बर्दियामा स्वंसेविकालाई तालिम दिइने कार्यक्रम रहेको अस्पतालले जनाएको छ।