भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा

इंग्ल्यान्डले उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने

भारतलाई हराउँदै इंग्ल्यान्ड फाइनलमाएजेन्सी,कार्तीक,२४-इंग्ल्याण्ड टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार अष्ट्रेलियाको एडिलेट ओभलमा भएको खेलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको हो ।

भारतले दिएको १ सय ६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा बिना विकेट लक्ष्य पूरा गर्‍यो । इंग्ल्याण्डको जितमा ओपनरद्वय जोस बट्लर र एलेक्स हालेसले कीर्तिमानी साझेदारी गरे । अर्धशतकीय इनिङ खेलेका एलेक्स ८६ र बट्लर ८० रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो । भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३ र विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले ।

कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादवले १४ रन बनाए । इंग्ल्याण्डका क्रिस जोर्डनले ३ विकेट लिए । क्रिस वोक्स र आदील राशिदले १/१ विकेट लिए ।

अब इंग्ल्याण्डले आइतबार उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तान न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको थियो ।