वीरगन्जको ग्यास उद्योगमा भीषण आगलागी, दुई जनाको मृत्यु

पर्सा, पुस ५-

पर्साको वीरगन्ज महानगरपालिका–२४ पटेल नगरस्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । ग्यास उद्योगमा आज बिहान ६ बजेतिर आगो सल्किएको प्रहरीले जनाएको छ । उद्योगभित्र कति मानिस थिए भन्ने अझै खुल्न सकेको छैन । आगो नियन्त्रणका लागि गएको वीरगन्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ ।

आगलागी भएसँगै त्यहाँ पुगेको विरगन्ज महानगरपालिकाको एउटा दमकलले आगो निभाउने प्रयास गरेको थियो तर आगो निभाउन गएका २ जना दमकलका कर्मचारीहरु मधुसुदन मिश्र, यादवप्रसाद अधिकारी सम्पर्कविहीन रहेका छन् भने चालक अरुणकुमार महतो र फायरम्यान सञ्जीवकुमार नेपाल घाइते छन् ।

उनीहरुको उपचार भइरहेको छ । दमकलका निमित्त इन्चार्ज शेरबहादुर कार्कीले २ जना अग्नीनियन्त्रक सम्पर्कविहिन रहेको पुष्टी गरेका छन् । आगलागी नियन्त्रण बाहिर गएको र निभाउने प्रयास भने जारी रहेको प्रहरीले जनाएको छ । पर्साका एसपी गणेश रेग्मीका अनुसार बुलेटबाट ग्यास लिक भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ  । 

आगलागी नियन्त्रण गर्नका लागि वीरगन्जमा रहेको भारतीय महावाणीज्य दूतावासको कार्यालयको समन्वयमा भारतको रक्सौलस्थित भारतीय आयल कर्पोरेसन (आइओसी)को डिपोबाट पेट्रोलियम पदार्थमा लागेको आगो निभाउने उपकरण तथा केमिकलहरु ल्याइँदै छ ।

यस्तै बाराको सिमरामा रहेको विमानस्थलबाट पनि वरुणयन्त्र मगाइएको छ ।जनधनको क्षति हुन नदिनका लागि प्रहरीले माइकिङ गरेर वरिपरीको बस्तीलाई खाली गराइरहेको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।