कैलालीका बाढीपीडित किसानलाई राहत रकम वितरण शुरु

कैलाली,असार,१८-गत वर्ष कात्तिकमा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढीपीडित किसानलाई राहत वितरण थालिएको छ । 

गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्तिस्वरूप राहत रकम पाइरहेका छन् । भजनी नगरपालिकाले प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम वितरण थालेको छ । तयारी धानबाली भित्र्याउने बेला गत वर्ष असोज ३१ देखि कात्तिक २ गतेसम्म आएको वर्षापछिको बाढीले पीडित बनेका किसानलाई क्षतिको आधारमा राहत रकम दिन शुरु भएको भजनी नगरपालिका कृषि शाखा प्रमुख कमल चौधरीले बताए ।

‘भजनीमा १० हजार किसानको धानबाली नोक्सानी भएको छ । किसानलाई क्षतिका आधारमा राहत दिन थालिएको छ,’ उनले भने, ‘क्षतिका आधारमा प्रदेश सरकारले राहत उपलब्ध गराएको छ । किसानलाई क्षतिको आधारमा १० कट्ठाभन्दा कम जमीन क्षति भएकालाई प्रतिकट्ठा रू. ३१५, ११ देखि ६० कट्ठासम्म क्षति भएकालाई रू. १२५, र ६० कट्ठाभन्दा माथि क्षति भएका किसानलाई रू. ७५ प्रतिकट्ठा रकम वितरण थालिएको छ ।’

एक किसानलाई रू. ५५ हजारभन्दा बढी नहुने गरी राहत रकम उपलब्ध गराइरहेको नगरपालिकाले बताएको छ । ‘मापदण्डअनुसार दिन थालिएको छ । यो राहत रकम हो,’ चौधरीले भने, ‘किसानलाई यो रकमले खेती गर्ने समयमा थोरै राहत हुन्छ ।’ 

राहतको लागि भजनी नगरपालिकामा प्रदेश सरकारबाट रू. दुई करोड ९२ लाख आएको छ । राहत रकम किसानलाई बैंकमार्फत वितरण थालिएको छ । वडा नं १ देखि ९ सम्मका पीडित सबै किसानलाई पायक पर्ने बैंकमा खाता खुलाइ बैंकमार्फत वितरण भइरहेको छ । 

नगरपालिकाले अहिलेसम्म रू. एक करोड ४० लाख किसानको खातामा पठाइसकेको र असार २० गतेसम्म पीडित सूचीकृत सबै किसानको खातामा रकम पठाइसक्ने गरी काम गरिरहेको छ । 

यस्तै, टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा पनि वितरण प्रक्रिया थालिएको छ । टीकापुरमा अहिले पीडित किसानलाई राहत रकम हस्तान्तरणका लागि बैंकमा खाता खोल्ने काम भइरहेको टीकापुर नगरपालिका कृषि शाखा प्रमुख मोतीसिंह विकले बताए ।

‘प्रदेश सरकारबाट रकम आएको छ । हरेक वडाका नागरिकको एउटै बैंकमा खाता खोलेमा पठाउन सहज हुने भएकाले खाता खोल्न लगाइरहेका छौं’, विकले भने । रासस