चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन आज

उद्घाटन गर्न प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री थापा दार्चुला जादै

काठमाडौं,माघ,२७-

निर्माणकार्य सम्पन्न भएपछि चमेलिया जलविद्युत् आयोजनाको आज औपचारिक उद्घाटन गरिदै छ । सरकारी लगानीमा निर्माण भएको ३० मेगावाट क्षमताको आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री देउवाले आज बिहान साढे ११ बजेपछि दार्चुलामा निर्माण भएको आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख अजय कुमार दाहालले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवा सँगै उद्घाटनका लागि उपप्रधान एंवम ऊर्जामन्त्री कमल थापा, मन्त्री जयन्त चन्द लगायत मन्त्रालय र विद्युत् प्राधिकरणका उच्चपदस्थ कर्मचारी पनि दार्चुला जादै हुनुहुन्छ ।प्रधान र उपप्रधानमन्त्री दार्चुला पुग्ने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । आयोजनाले हाल १५–१५ मेगावाटका दुई युनिटबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ । आयोजना निर्माण शुरु भएको झण्डै ११ वर्षपछि विद्युत् उत्पादन भएको हो ।

आयोजनाले वार्षिक १८ करोड ४२ लाख युनिट बिजुली उत्पादन गर्ने जनाइएको छ । आयोजनाका अनुसार यसबाट वार्षिक एक अर्ब १० करोड आम्दानी हुनेछ । आयोजना चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) ले निर्माण गरेको हो ।