सुदूरपश्चिममा गौराको रौनक

दसैँ भन्दा वढि महत्वका साथ मनाइने

इन्द्र कार्की/
महेन्द्रनगर,भाद्र ,१२-

भाद्र कृष्ण पञ्चमीका दिन देखि सुरु हुने गौरा पर्व सुदूरपश्चिमवासीहरुको महान पर्व हो । यहि महान पर्व गत शनिवार देखि सुदूरपश्चिमका जिल्लाहरुमा सुरु भएको छ । गौरा पर्व सुरु भए संगै यहाँका पहाडि तथा तराईका जिल्लाहरुमा सुदुरको चिनारी तथा लोकप्रिय डेउडा भाका पनि गुञ्जन थालेको छन् ।

गौरा पर्वको पहिलो दिन घरघरमा तथा सामुहिक रुपमा तामाको भाडामा गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर (पाँच प्रकारका अन्न जसलाई बिरुडा भनिन्छ ) भिजाइन्छ । महिलाहरुले दोस्रो दिन पानीका मुहान र पधेँरोमा शुभ साइतमा सामुहिक रुपमा बिरुडा धोएर गौरा देविको प्रतिस्थापन गर्ने प्रचलन रहि आएको छ ।

यसैगरी सप्तमीका दिन गौरा देवीलाई मठ मन्दिरमा भित्रयाएर पुजा अर्चना गरिन्छ । गौराष्टमीका दिन व्रत वसेर महिलाहरु विहानै देखि गौराखलो (गौरा मनाउने ठाउँ) मा पुजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो (धागो वाट हातले वुनेर वनाईएको पोते जस्तै वस्तु) घाटीमा लगाई देवीको पुजा गर्ने परम्परा रहेको छ ।

सोहि दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफना घर परिवारका सदस्यको टाउकोमा पुजने र निधारमा बिरुडा थापी आर्शीवाद दिने तथा लिने गर्छन् । घर परिवारको सुख, शान्ति र परिवारका सदस्यको दीघार्युका लागि व्रत बसी पुजाआजा गर्ने मान्यता छ । बिरुडालाई प्रसादको रुपमा बाड्ने चलन समेत रहेको छ ।

साथै वाँकी बिरुडालाई भुटेर खाने गरिन्छ । पौराणिककालमा भगवान शिवको प्राप्तीका लागि गौरा देवी अर्थात पार्वतीले निराहार आराधना गरी शिवको प्राप्ती भएको जनविश्वास रहि आएको छ । त्यहि वेला देखि नै यो परम्परा चल्दै आएको वताइन्छ । द्धन्द्धका समयमा गौरा पर्व फिका हुदै गए पनि अहिले भने यसमा रौनकता आएको छ ।

गौरामा घर परिवारका सदस्यहरुले नयाँ लुगा किनेर लगाउने गर्छन ।
गौरा पर्वको आगमनले यतिवेला सुदुरपश्चिममा चहलपहल वढेको छ । दसैँ भन्दा वढि महत्वका साथ मनाइने सुदुरपश्चिमवासीहरु गौरामा डेउडा खेलमा रमाउन परदेशिएकाहरु समेत घरपरिवार सम्झिएर र्फकने गर्छन । छिमेकी भारतका विभिन्न सहरहरुमा मजदुरी गर्ने सुदुरपश्चिमेलीहरु यतिवेला घर फर्किरहेका छन् ।

गौरा पर्वको मुख्य आर्कषण डेउडा हो । यसमा पौराणिक कथा, देवी देउताका गाथा, धार्मिक ग्रन्थ गाउने गरिन्छ । साथै सामाजिक विकृति विरुद्ध पनि देउडाका माध्यमले व्यङग्य गर्ने गरिन्छ । ठाउँठाउँमा डेउडा प्रतियोगिताहरु समेत यसै अवसरमा सञ्चालन हुने गर्छन । महिलाहरुले आफना सुखदुख समेत डेउडा खेल वाट व्यक्त गर्ने गर्छन् । पहाडि जिल्लाहरुमा मात्र नभई कैलाली र कञ्चनपुरमा पनि पहाडि समुदायले मनाउने गौरा उत्तिकै आर्कषण वन्ने गरेको छ ।

कञ्चनपुर सदरमुकाम भीमदत्तनगर र नजिकका मठ मन्दिर साथै सार्वजनिक मैदानहरुमा डेउडा खेल्ने र हेर्नेहरुको घुइँचो लाग्ने गर्छ । डेउडामा खासगरी ढुस्को र ठाडो खेल खेल्ने गरिन्छ । बसाइसराइ सगैँ सुदुरपश्चिममा मात्र नभई अहिले डेउडा तथा गौराले राजधानी सम्म आफनो लोकप्रियता कायम गरेको पाइन्छ ।