काठमाडौं,फागुन,७-आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै मात्र ८२ रन जोड्न सक्यो । नेपालको यो लगातार दोस्रो जित हो । यस अघि नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो ।
नेपालविरुद्ध फिलिपिन्सका लागि जोर्डन अलेग्राले २७, ड्यानियल स्मीथले २०, कप्तान जोनाथन हिलले ११, कपिल कुमारले ४ रन जोडे । नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए ।
गुल्सन झा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, अविनाश बोहरा, जितेन्द्र मुखियाले एक-एक विकेट लिए ।यस अघि ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १८ रन जोड्यो ।
नेपालका लागि कुशल भुर्तेलले १ सय ४ रनमा अविजित रहे । कुशलले ६१ बल खेल्दा १३ चौका र १ छक्का हिर्काए । कुशलको टी–ट्वान्टी अन्तर्राष्ट्रियमा यो सर्वाधिक रन हो । यस अघि उनले ७७ रन बनाएका थिए ।
कुशल नेपालबाट शतक बनाउने तेस्रो खेलाडी हुन् ।यसअघि नेपालबाट ज्ञानेन्द्र मल्लले ५५ बलमा १ सय ७ रन तथा पारस खड्काले ५२ बलमा १ सय ६ रन बनाएका थिए ।
दिपेन्द्र सिंह ऐरीले ८३ रन जोडे । उनले ४७ बलमा ६ चौका र ४ छक्का हिर्काए । कुशल र दिपेन्द्रले नेपालका लागि टी–ट्वान्टीको सर्वाधिक रनको साझेदारी गरे ।कुशल र दिपेन्द्रले १ सय ७१ रनको साझेदारी गरे ।
यस अघि पारस खड्का र आरिफ शेखले सिंगापुरविरुद्ध १ सय ४५ रनको साझेदारी गरेका थिए । लोकेश बम ६ रनमा अविजित रहे ।
कुशल मल्लले १२ रनमा आउट भए । आशिफ शेख शुन्य रनमै आउट भएका थिए ।फिलिपिन्सका लागि गुर्धुपिन्दर चोहान, मिग्गी पोडोस्की र ड्यानियल स्मीथले एक–एक विकेट लिए ।