एमसीसीले नेपाललाई पठायो जवाफ( पूर्णपाठ नेपालीमा हेर्नुहोस्)

काठमाण्डौं,भदौ,२३-अमेरिकी सहयोग परियोजना एमसिसीले नेपाल सरकारले सोधेका प्रश्नहरूको जवाफ पठाएको छ। अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर एमसिसीले नेपालस्थित अमेरिकी दूतावासमार्फत् जवाफ पठाएको हो।

यसअघि सरकारले एमसिसीबारे उठेका विभिन्न सवालहरूमा प्रष्टीकरण माग्दै एमसिसीलाई पत्र पठाएको थियो। एमसिसीले सरकारले सोधेका एक-एक प्रश्नको जवाफ अंग्रेजी र नेपाली दुबै भाषामा पठाएको छ।

सरकारलाई पठाएको जवाफमा एमसिसीले नेपाललाई गर्न लागेको सहयोग सैन्य क्षेत्रसँग सम्बन्धित नभएको, बिनाअवरोध निर्धारित समयमा कार्यान्वयन होस् भनेर संसदबाट पारित गर्ने व्यवस्था राखिएको, एमसिसी सम्झौताभन्दा नेपालको संविधान माथि रहेको र परियोजनाका लागि प्रयोग हुने जग्गामा नेपाल सरकारको स्वामित्व कायम हुने बताएको छ।

एमसिसीको जवाफमा यो सहयोग हिन्द-प्रशान्त रणनीतिअन्तर्गत नभएको पनि उल्लेख गरिएको छ।

‘एमसिसी कम्प्याक्ट हिन्द-प्रशान्त रणनीति मातहतको सम्झौता होइन। एमसिसी कम्प्याक्टहरू एमसिसी र साझेदार सरकारबीचका सम्झौता हुन्। अमेरिका र नेपालबीचको सम्बन्ध हिन्द-प्रशान्त रणनीतिभन्दा धेरै अघिदेखिको हो,’ एमसिसीको जवाफमा भनिएको छ।