छिट्टै सरकारमा जान्छौं-अध्यक्ष नेपाल

काठमाडौं,असोज,९-नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताउनुभएको छ ।

शनिबार मकवानपुर जिल्लाको सपथ ग्रहण तथा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) छिट्टै सरकारमा सहभागी हुने बताउनुभयो ।

उहाँले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिँडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशील हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा(एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुनेछ । यो देश हाक्नेछ । यो देशलाई परिवर्तनको दिशामा अगाडी बढाउनेछ । हाम्रो चिन्ता लोकतन्त्रलाई जोगाउने हो । जनताको सेवा गर्ने हो । देशको इज्जत र प्रतिष्ठा बचाउने हो ।’

अध्यक्ष नेपालले गठबन्धनका बीचमा सहकार्यको संस्कृति विकास गर्ने पनि बताउनुभयो । उहाँले गठबन्धनसँग मिल्दै प्रदेशमा पनि संयुक्त सरकार चलाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सहकार्यको संस्कृति विकास गर्नुपर्नेछ । प्रदेशमा पनि सामुहिक रुपमा सरकार चलाउन चाहन्छौँ । राम्रो मान्छेलाई प्रोत्साहित गर्न चाहन्छौँ । योग्यता क्षमता भएको मान्छेलाई हुर्काउन चाहान्छौँ ।’

अध्यक्ष नेपालले एकीकृत समाजवादीको संगठन स्थानीय तहसम्म मजबुद रहेको बताउनुभयो । आफुहरूले पार्टीलाई पहिलो बनाउन चाहेको पनि उहाँले बताउनुभयो ।