गठबन्धनले प्रधानमन्त्रीलाई भेट्दै

काठमाडौं, २६ वैशाख –

संघीय गठबन्धनले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने भएको छ । अहिल केहिबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर गठबन्धनको तर्फबाट विभिन्न नेताहरुले भेट्ने कार्यक्रम रहेको गठबन्धनका नेता मनिस सुमनले जानकारी दिनुभयो ।

भेटमा संघीय गठबन्धन र सत्तारुढ दलबीच भएको सहमतिअनुसार वैशाख ३१ हुने पहिलो चरणको चुनावअघि सविधान संशोधन विधेयक पारित हुने सम्भावना कम भएपछि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन बिहान प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको नेता सुमनले जानकारी दिनुभयो ।

भेटमा संविधान संशोधन नगरि जबरजस्ती निर्वाचन गर्न लागेको भन्दै सरकारको ध्यानाकर्षण गराउने गठबन्धनको तयारी छ । गठबन्धनले सरकारको तर्फबाट चित्तबुझ्दो जवाफ नआए आजै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको नेता सुमनले जाकारी दिनुभयो । उहाँले आफूहरुसँग भएको सहमतिअनुसार संविधान संशोधन विधेयक निर्वाचन अघि पारित हुने नहुनेबारे चित्तबुझदो जवाफ माग गर्ने बताउनुभयो ।

गठबन्धनले आफूसँग भएको भद्रसहमति तोडेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने तयारी रहेको बताएको छ । सरकारले गठबन्धनलाई धोका दिएको निष्कर्ष निकाल्दै पहिलो चरणको चुनावअघि नै संशोधनको विषयले गतिलिनु पर्ने माग गरेका छन् ।

विभिन्न बहानामा व्यवस्थापिका संसदको बैठक जेठ ४ गतेसम्मका लागि स्थगित गरिएकोप्रति गठबन्धनका नेताहरुले आलोचना गरेका छन् । प्रधानमन्त्रीसंगको भेटमा यसविषयमा पनि ध्यानाकर्षण गराउने उनिहरुको तयारी छ ।