सुदूरपश्चिममा डेढ लाखले लगाएर कोरोनाविरुद्धको खोप

काठमाडौं,चैत,२-सुदूरपश्चिम प्रदेशमा १ लाख ५० हजारले कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोप लगाएका छन्।सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले हालसम्म प्रदेशभरी १ लाख ५० हजार जनालाई खोप लगाइएको जानकारी दिनुभयो।

पहिलो चरणको पहिलो र दोस्रो प्राथमिकता तथा दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका नागरिकलाई खोप लगाइएको हो ।

सबैभन्दा बढी कैलालीमा ४० हजार ३ सय १ जनालाई खोप लगाइएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा पहिलो चरणको खोप अभियान गत माघ १४ देखि सुरु भएको थियो भने दोस्रो चरणको गत फागुन २३ गतेबाट सुरु भएको हो ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापनमा खटिएका कर्मचारी, कैदीबन्दी,सीमामा खटिएका सुरक्षाकर्मी, कर्मचारी,जनप्रतिनिधि, सञ्चारकर्मी र दोस्रो चरणमा हाल ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप लगाइदैँछ ।