पुननिर्माणमा खटिएका तीन जिल्लाका प्राविधिकलाई ओखलढुंगामा तालिम

ओखलढुंगा,भदौ,४- 

ओखलढुङ्गामा भूकम्प प्रतिरोधी भवन निर्माणका लागि डकर्मी तालिम प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । तालिममा ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङ जिल्लाका गरि ७५ जना प्राबिधिक ईञ्जिनियरहरु सहभागी रहेका छन् ।

पुननिर्माणका काममा पछिल्ला दिनहरुमा केही स्थानहरुमा डकर्मीहरुले निर्माण गरेका आवास गृह भुकम्पीय सुरक्षाको मापदण्ड विपरित रहेको भन्दै अनुदान वापतको किस्ता रकमलाई सिफारिस गर्न ईञ्जिनियरहरुले आनाकानी गरेका थिए ।

आगामी दिनहरुमा त्यस्तो समस्यालाई झेल्नु नपरोस भनि तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । तालिमको उद्घाटन शत्रलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले तालिम तालिममा मात्रै सिमित नभएर सहभागीहरुको ज्ञान, सीप र क्षमतामा नै परिवर्तन आउनुपर्नेमा जोड दिनुभयो ।

विगतका तालिमबाट पनि जिल्लामा राम्रै उपलब्धी भएको भन्दै शोमवार देखी सञ्चालन भएको यस तालिमले माथिल्लो सगरमाथा अन्तरगतका तिनओटै जिल्लामा अझै कामको गति तिब्रतर रुपमा हुने पनि विश्वास गर्नुभयो ।

२०७२ सालको भूकम्पमा परि क्षति भएका जिल्लाहरु मध्ये पूननिर्माणको गतिमा ओखलढुङ्गा दोश्रो स्थानमा रहेपनि यसवाट यति उपलब्धीमा मात्रै सन्तुष्टि लिने ठाँउ नभएकोले गर्दा पूननिर्माणको कार्यलाई थप तिब्रता दिनुपर्नेमा उहाँको जोड थियो ।

प्रशिक्षक प्रशिक्षण तालिममा पूननिर्माणका काम सम्बन्धि तालिम दिदा सिद्धान्तलाई आत्मसात गर्दै स्थानीय स्तरको ब्यबहारिक पक्षलाई पनि कसरी मिलाएर जान सकिन्छ भनेर जाने कुरामा ध्यान दिनुपर्नेमा नगरपालिकाका प्रमुख श्रेष्ठले जोड थियो ।

साथै पूननिर्माणको कार्यमा हुने नयाँ संरचनाको मात्रै हैन प्रबलीकरणको बारेमा स्थानीय तहहरुवाट बढि गुनासो आउने गरेकोले तालिममा यो विषयलाई पनि ध्यान दिन श्रेष्ठले आग्रह गर्नुभयो ।

कार्यक्रमलाइृ सम्बोधन गर्दै विशेष अतिथि प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले पूननिर्माणको कार्यमा पनि प्रशिक्षक प्रशिक्षण जस्तो गरिमामय तालिममा सहभागी हुने अबसर पाउने सबैलाई धन्यवाद दिदै तालिमलाई कसरी प्रभावकारी वनाउन सकिन्छ भन्ने बारेमा सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

पछिल्ला दिनहरुमा ओखलढुङ्गामा पनि पूननिर्माणको कामको गति अलिक सुस्ताएको भन्दै यसबारेमा तालिमबाट फर्किसकेपछि बास्तविक कारण पत्ता लगाई व्यक्तिगत आवासको पूननिर्माणको गतिलाई तिब्रता दिन प्रमुख जिल्ला अधिकारी न्यौपानेले सहभागीहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय पूननिर्माण प्राधिकरण, जिल्ला कार्यक्रम कार्यान्वयन ईकाई ओखलढुङ्गाका प्रमुख विजयमुनी बज्राचार्यले पूननिर्माणको काममा १४ जिल्ला मध्ये ओखलढुङ्गा हाल दोश्रो स्थानमा रहेको जानकारी गराउनुभएको थियो ।

ओखलढुङ्गा दोश्रो स्थानमा रहेपनि सन्तोष मानेर बस्न सक्ने अबस्था नरहेको भन्दै तालिम सकिनासाथ सबै प्राबिधिक ईञ्जिनियरहरु फिल्डमा गएर स्थानीय स्तरवाट हल गर्न सकिने समस्यालाई त्यतै मिलाई आवश्यक प्रक्रिया पुर्याएर अघिल्लो किस्ताका लागि द्रुतगतिमा काम अगाडी बढाउन पनि आग्रह गर्नुभयो ।

तालिमक उद्घाटनसत्रमा शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गाका प्रमुख सुमन सालिकेले ओखलढुङ्गामा पहिलो किस्ता रकम लिएका भुकम्प पिडित लाभग्राहीहरु मध्ये ८४ प्रतिशतले मात्रै व्यक्तिगत आवास निर्माणको काम थालनी गरेका बताउनुभयो ।

त्यस्तै १६ प्रतिशत भुकम्प लाभग्राहीहरुले अझैपनि आवास निर्माणको काम थालनी नै नगरेका जानकारी दिनुभएको थियो । भुकम्प पिडित लाभग्राहीहरु मध्ये व्यक्तिगत आवास निर्माणको काम थालनी गरेकाहरुमध्ये चाही राम्रै प्रगती भैरहेको पनि प्रमुख सालिकेले जानकारी दिनुभयो ।

तालिम शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गाको आयोजनामा सुरु भएको हो । तालिम भाद्र १० गते सम्म सञ्चालन हुनेछ भने तालिम सञ्चालनका लागि देम्बा सामुदायीक विकास मञ्च, सयपत्री संस्था, एच आर आर पी र सी आर एस नेपालले सहयोग गरेका छन् ।