४ महीनामा ७ अर्बको विद्युत् भारत निर्यात, थप २०० मेगावाट बेच्न प्रस्ताव

Image Not Foundकाठमाडौं,असोज,४-नेपाल विद्युत् प्राधिकरणले पछिल्लो चार महीनामा ७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत भारतीय बजारमा निर्यात गरेको छ । चालू आर्थिक वर्षको दोस्रो महीनामा मात्र २ अर्ब  ४२ करोड रुपैयाँको निर्यात भएको छ ।

देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको प्राधिकरणले बताएको छ । वर्षायामको विद्युत् गत १९ जेठ (२ जुन २०२२) बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धा मार्फत विक्री शुरु भएको थियो ।

सुरुमा दुई ओटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी  दैनिक रुपमा आइएक्समा विक्री गरिएको थियो । त्यसपछि २७ जेठ (१० जुन २०२२) बाट दैनिक रुपमा ६ ओटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा विक्री हुँदै आएको छ ।

प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा विक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैया (भारु) मा हुने भएकोले चार महीनाको अवधिमा विद्युत् विक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत् विक्रीबाट १ अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ ।

हरेक महीना विद्युत् निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट (भारु) नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘चालू आवमा विद्युत निर्यातबाट करीब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ, मंसिरको पहिलो हप्तासम्म निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात शुरु हुन्छ’, उनले भने ।

अब चाडबाड पनि शुरु हुन लागेकोले उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक खपत केही कम भए पनि उत्पादन भने पूर्ण क्षमतामा हुने हुँदा करीब २०० मेगावाट थप विद्युत् निर्यातको सहमतिका लागि प्रस्ताव पठाएको उनले बताए ।आर्थीकखबरबाट