प्रधानमन्त्री ओलीलाई दुई तिहाईभन्दा बढी सांसदको ‘विश्वास मत’

काठमाडौं, फागुन,२७-

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन् ।प्रधानमन्त्री ओलीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्रलगायत दलका २०८ सांसदले मत दिएका छन् । यो कुल संसद सदस्य संख्याको ७५.६ प्रतिशत हो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा आइतबार विश्वासको मतमाथि मतविभाजन हुँदा २६८ सांसद मतदानमा सहभागी भएका थिए ।

६३ सांसद रहेको नेपाली कांग्रेसका ६० सांसदले विश्वासको मतको विपक्षमा मतदान गरे । यो कुल सदस्य संख्याको २१.८ प्रतिशत हो । कांग्रेसका तीन सांसद उपस्थित थिएनन् ।

नयाँ शक्ति पार्टीका सांसद डा. बाबुराम भट्टराई पनि बैठकमा अनुपस्थित थिए । १७ सांसद रहेको राजपा नेपालका कैलाली–१ बाट निर्वाचित सांसद रेशमलाल चौधरी पनि बैठकमा अनुपस्थित थिए । उनी हाल प्रहरी नियन्त्रणमा छन् ।

विश्वासको मतको पक्षमा वाम गठबन्धनका एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, राप्रपा, जनमोर्चा र स्वतन्त्र सांसद छक्कबहादुर लामाले मत दिएका छन् ।नेमकिपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएन ।