जापानमा कोरोनाको खोप १० करोड ५९ लाख ७८ हजार बढीले लगाए

थप १९ हजार ३ सय ११ जना संक्रमीत, ५० जनाको मृत्यु !!

जापान,भदौ,१४-जापानमा आईतबार सम्म कोरोना भाइरसको खोप लगाउनेको संख्या १० करोड ५९ लाख ७८ हजार ५ सय ६९ जना पुगेको छ।कोरोना खोप लगाउनेको दर अहिले सम्मकै उच्च हो । जापानमा हाल १३ करोडको हाराहारीमा जनसंख्या रहेको छ । 

यहाँ पछिल्लो समय कोरोना भाईरस संक्रमित हुनेको संख्या पनि उच्च रहेको छ ।आईतबार मात्र १९ हजार ३ सय ११ जना संक्रमीत थपिएका छन् ।यो संगै अहिले सम्म जापानमा संक्रमित हुनेको संख्या १४ लाख ६० हजार १ सय ५९ जना पुगेको छ ।

त्यस्तै सोही अवधिमा एकैदिन ५० जनाको मृत्यु भएको छ । यो संगै यहाँ मृत्यु हुनेको संख्या १५ हजार ९ सय ६९ पुगेको छ । आईतबार मात्र २ हजार ७० जना निको भएर घर फर्केका छन् ।यो संगै यहाँ निको हुनेको संख्या ११ लाख ७३ हजार ७ सय ७१ जना पुगेको छ ।

यसैबिच : जापान सरकारले अमेरिकी फर्मा कम्पनी मोडेर्ना इंकको कोभिड–१९ विरोधी खोपको दूषित लटमा पर्ने खोप लगाएपछि दुई जनाको मृत्यु भएको घटनाको अनुसन्धान शुरु गरेको छ ।

शनिवार स्वास्थ्य मन्त्रालयले यसबारे बताएको हो । यही महीनाको शुरुमा मोडेर्नाको खोपको दोस्रो मात्रा लगाएका ३० र ३८ वर्षका दुई पुरुषको मृत्यु भएको थियो । मृत्यु भएका दुबैले बिहीवार सरकारले प्रयोगमा रोक लगाएको खोपको तीन लटमा पर्ने खोप लगाएका थिए ।

पाँच ओटा प्रिफेक्चरका आठ खोप स्थलहरुमा खोपको ३९ ओटा भाइलमा धातुको कण पाइएको थियो।मृत्युको कारणहरुबारे अनुसन्धान भइरहेको मन्त्रालयले बताएको छ । अहिले खोप र मृत्युको कारण अज्ञात रहेको बताइएको छ । खोप लगाएपछि दुबै जनालाई ज्वरो आएको थियो । 

ती दुबैमा दीर्घ रोग वा एलर्जीलगायत केही समस्या नभएको मन्त्रालयले बताएको छ । स्वास्थ्य  मन्त्रालयले धातुको कण जस्तो वस्तु पाइएको ३९ भाइल खोप पर्ने तीन लटका १६ लाख ३० हजार मात्रा खोप प्रयोगमा रोक लगाएको छ ।यी लटका खोपहरु जापानले देशभरका ८०० भन्दा धेरै खोप केन्द्रहरुमा वितरण गरेको थियो । 

देशका कयौं खोप स्थलहरुबाट खोपका प्रयोग नभएका भाइलमा बाह्य वस्तु पाइएको खबर आफूले पाएको जापानमा मोडेर्नाको खोप विक्री र वितरणको जिम्मा पाएको जापानी फर्मा कम्पनी ताकेदा फर्मास्युटिकल्सले बताएको छ ।