आयोजक मलेसिया नेपाल संग पराजित

एसिया कप छनोट क्रिकेटमा नेपालको पहिलो जित दर्ता

काठमाडौं,भदौ,१६-

नेपालले मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । आज शनिबार बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले आयोजक मलेसियालाई १९ रनले पराजित गरेको हो ।

नेपालले दिएको १८९ रनको विजयी लक्ष्य पछ्याएको मलेसिया निर्धारित् ३० ओभरमा ९ विकेट गुमाउँदै १६९ रनमा समेटियो । वर्षाका कारण खेल ३० ओभरमा झारिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुआत गरेको थियो । १३ ओभरमा ६० रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाइसकेको नेपाली इनिङ्सलाई दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले उकासेका थिए ।ऐरी र शेख दुवैले अर्धशतकीय पारी खेले । ऐरी ५४ रन जोडेर पवेलियन फर्किए । शेख ६४ रनमा अविजित रहे ।

यस्तै, ओपनर अनिल शाहले १६ रनको योगदान गरे । कप्तान पारस खड्काले १३ रन जोडे । ज्ञानेन्द्र मल्लले ११ रन बनाए । अरु नेपाली ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालले ३० ओभरमा ७ विकेट गुमाउँदै १८८ रनको योगफल तयार पारेको हो ।बलिङतर्फ मलेसियाका स्यार्जुल इद्रुस र शार्भिन मुनिन्देले समान ३/३ विकेट लिए ।जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले सुरुआतमा सम्हालिएको प्रदर्शन गरेपनि नेपाली बलरले रोक्न सफल भए ।

मलेसियाका अनवर अरुदिन र सइद अजिजले समान ३४/३४ रन बनाए । कप्तान अहमद फैजले २२ रन जोडे । भिरनदीप सिंहले २१ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २/२ विकेट झारे ।एक विकेटसमेत लिएका दीपेन्द्रसिंह ऐरी ‘प्लेयर अफ दी म्याच’ घोषित भए ।

प्रतियोगिताको तेस्रो खेलमा नेपालको यो पहिलो जित हो । यसअघिका दुई खेलमा नेपाल लगातार पराजित भएको थियो । जितसँगै छनोटको फाइनलमा पुग्ने नेपालको सम्भावना कायमै रहेको छ ।

नेपालले अब सिंगापुर र हङकङसँग खेल्न बाँकी छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनलमा स्थान बनाउनेछन् । फाइनल जित्ने टोली एसिया कप क्रिकेटका लागि छनोट हुनेछ । ईमेजखबरबाट