स्ववियु निर्वाचन फागुन १४ मै गराइने, सुरक्षा व्यवस्था सरकारले मिलाउने

काठमाडौं, फागुन ४-  त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि चाहिने सम्पूर्ण सुरक्षा व्यवस्था सरकारले मिलाउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी नेताहरुबीच आज बालुवाटारमा भएको छलफलमा स्ववियु निर्वाचन गर्न चाहिने सम्पूर्ण सुरक्षाको व्यवस्था सरकारले मिलाउने सहमति भएको हो ।

निर्वाचन गराउन नसक्ने भन्ने क्याम्पस प्रमुखहरुसँग छलफल गरी सरकारले सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता प्रधानमन्त्री दाहालले गर्नु भएको हो ।बैठकले सुरक्षाको कुनै चिन्ता नलिई निर्वाचन कार्यक्रमलाई अघि बढाउन सम्बन्धित क्याम्पसहरुलाई निर्देशन दिएको बैठकमा सहभागी एमाले नेता रविन्द्र अधिकारीले जानकारी दिनुभयो ।बैठकले निर्धारित मितिमै स्ववियु चुनाव सम्पन्न गराउने निर्णय गरेको छ । साभार ईमेज खबरबाट