कोरोना संक्रमणबाट ४९८ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या ७७ हजार ८१७ पुग्यो

काठमाडौं,१४-नेपालमा बुधवार थप १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण ४९८ जनाको मृत्यु पुष्टि भएको छ ।

प्रवक्ता गौतमले कुल डिस्चार्ज हुनेको संख्या ५६ हजार ४२८ पुगेको बताए । डिस्चार्ज भएसँगै नेपालमा कोरोना  संक्रमितको संख्या २१ हजार ३८९ जना रहेको  छ ।बुधवार मात्रै थप १ हजार ५७ जना डिस्चार्ज भएर घर फर्किएका छन् । नेपालमा हालसम्म पीसीआर परीक्षण संख्या १० लाख २१ हजार ५०३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ५०० ओटा पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हाल होम आईसोलेशनमा १० हजार ८०४ जना रहेका छन् भने संस्थागत आईसोलेशनमा १ हजार ८७ जना जना रहेका छन् । देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ५ हजार ४२८ जना रहेका छन् । हाल सक्रिय संक्रमितको संख्या २० हजार ८९१ जना रहेको छ ।

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ जनालाई कोरोना संक्रमण पुष्टि भएको उक्त मन्त्रालयले बताएको छ । विगत २४ घण्टाको अवधिमा काठमाडौं जिल्लामा ६९७ जना, ललितपुर जिल्लामा ११२ जना र भक्तपुर जिल्लामा ९३ जनालाई कोरोना पुष्टि भएको छ ।

यसैबीच प्रवक्ता गौतमले उपत्यकाका विभिन्न आठ ओटा प्रयोगशालाले तोकिएको भन्दा बढी शुल्क लिएको पाइएकोले तत्काल शुल्क नघटाए परीक्षण स्वीकृती खारेज गरिने बताए । उनले २४ घण्टाभित्र ती प्रयोगशालाहरूलाई शुल्क घटाउन निर्देशन दिइएको पनि  बताउनुभयो ।

सरकारले ती प्रयोगशालालाई अधिकतम रू.२ हजार शुल्क लिएर कोरोना भाइरसको पीसीआर परीक्षण गर्न भनेको छ।