एन्फामा ७० करोड बजेट पारित,खेलाडीलाई कोरोना बिशेष १५ हजारको खुराक

काठमाण्डौं,जेठ,२०-अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बसेको कार्य समिति बैठकले आर्थिक बर्ष २०७७र७८ का लागि ७० करोडको बजेट पारित गरेको छ ।

कोरोना भाइरसको महामारी कायमै रहेको स्थितिमा बसेको भर्चुवल बैठकले ७० करोड १९ लाख १९ हजारको बजेट पारित गरेको हो । उक्त बजेटलाई सोमबार नै तय गरिएको भदौं १५ गतेको साधारण सभाले अनुमोदन गर्नेछ । एन्फाका अनुसार तोकिएको मितिमा पनि कोरोनाको महामारी जारी रहेको खण्डमा फिफा र एएफसी मान्यता प्राप्त अनलाइन भर्चुवल माध्यमद्वारा साधारण सभा बैठक बसिनेछ ।

यस्तै कोरोना भाइरस राहत समितिले पेश गरेको प्रतिवेदनका आधारमा एन्फाले फिफासँग १ लाख डलर बराबरको राहत सहयोग माग गर्दै आफू आबद्ध संघ, ए, बि र सि डिभिजन क्लबहरु, मोफसलमा प्रतियोगिता गर्दै आइरहेका आयोजकहरुलाई राहत बितरण गर्ने पनि एन्फाले जनाएको छ ।

फिफाले कोरोना भाइरसले महामारीको रुप लिदै गर्दा आफ्ना सदस्य राष्ट्रहरुलाई पाँच लाख डलर सहयोग गर्ने बताएको थियो । प्रारम्भिक चरणमा माग गर्न लागिएको सहयोगबाट एन्फाले राष्ट्रिय महिला र पुरुष टिमका ३५–३५ जना खेलाडीहरुलाई १५ हजार खुराक खर्च दिने निर्णय गरेको छ ।

यस्तै निलम्बित ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई सोधिएको स्पष्टिकरणमा चित्त बुझ्दो जवाफ नआएको भन्दै सोमबारको बैठकले उनलाई साधारण सभासम्मका लागि अस्थायी निलम्बन कायम गरिने निर्णय पनि लिएको छ । यसअघिको एन्फाको बैठकले थापालाई एन्फा र पदाधिकारीमाथि बिधानबिपरित अपशब्द बोलेको भन्दै कारवाही गरेको थियो ।वईस्पोर्टस