विश्वका सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

फाईल तस्विर !!

काठमाण्डौं,असोज,८-पृथ्वीमा सात समुन्द्र छन्, विश्वका आश्चर्यहरु पनि सातवटै छन्, फुटबलमा लक्की मानिने नम्बर पनि सात नै हो । यस्तै पृथ्वीमा पनि सातै वटा महादेश छन् । फुटबल सर्वव्यापी खेलकुद हो र यो खेल मन नपराउने शायदै कोही होलान् । आज हामी हेर्दै छौ सात माहादेशका सात उत्कृष्ट खेलाडीहरु ।

एसिया-सन ह्युङ मिन (दक्षिण कोरिया)

टोटनह्यामका स्टार फर्वार्ड सन ह्युङ मिन युरोपका शिर्ष पाँच लिगमा खेल्ने थोरै एसियन खेलाडी मध्येका एक हुन् । सिन्जी कागावा देखी ओमार अब्दुल रहमन जस्ता प्रतिभावान खेलाडी एसियाले जन्माए पनि सन यि खेलाडी भन्दा निकै उत्कृष्ट देखिन्छन् ।

टोटनह्यामलाई २०१८–२०१९ को च्याम्पियन्स लिग फाइनलमा पुर्याउन ठुलो भूमिका खेलेका सनले दक्षिण कोरियाका लागि एसियन गेम्समा स्वर्ण पदक जितेका थिए । सन निकै प्रभावकारी खेलाडी हुन् । उनी मिडफिल्ड देखी फर्वार्ड जुन स्थानमा पनि खेल्न सक्छन् ।

अफ्रिका-मोहम्मद सलाह (इजिप्ट)

अफ्रिका महादेशका लागि उत्कृष्ट खेलाडी अहिलेको अवस्थामा मोहम्म्द सलाह नै हुन । सलाह इजिप्टमा भगवान सरह पुजिने गरेका छन् । अफ्रिकामा अरु उत्कृष्ट खेलाडीहरुको नाम उल्लेख गर्दा सेनेगलका सादियो माने, अल्जेरियाका रियाद माह्रेज र ग्याबोनका पिएरे–एमरेक औबामेयाङ भए पनि सलाह यो सुचीका उत्कृष्ट खेलाडी हुन् ।

इजिप्टलाई २०१८ को विश्वकपमा छनोट गराउनुका साथै लिभरपुल अहिले उत्कृष्ट टोली बन्नुमा पनि उनको अहम भुमिका रहेको छ । उनले लिभरपुलका लागि इङ्गलिस प्रिमियर लिग र च्याम्पियन्स लिग पनि जितिसकेका छन् ।

युरोप-क्रिष्चियानो रोनाल्डो (पोर्चुगल)

युरोप फुटबलका लागि निकै पागल महादेश हो । विश्वका सबै उत्कृष्ट क्लबहरु युरोप कै हुने गर्छन् । युरोपमा फुटबल खेल्नु बिश्वका हरेक कुनाको फुटबलरको सपना हो । अर्जेन्टिनाका मेस्सी देखी अफ्रिकाका हरेक खेलाडीले आफ्नो करिअर युरोपमै बनाएका छन् ।

क्रिष्चियानो रोनाल्डोलाई युरोप महादेशको उत्कृष्ट खेलाडी मान्न सकिन्छ । युरोपमा धेरै भन्दा धेरै उत्कृष्ट खेलाडीको रहेका छन् । रोबर्ट लेवानडोस्की, एडेन हाजार्ड, केविन डि ब्रुन र म्यानुयल नोयर ति खेलाडीहरुका उदाहरण मात्र हुन् ।

३४ बर्षको उमेरमा पनि युरोपमा राज गरिरहेका रोनाल्डो अहिले बिश्वका उत्कृष्ट खेलाडी रहेका छन् ।

उत्तर अमेरिका-केलोेर नाभास (कोस्टा रिका)

फुटबलका त्यति लोकप्रिय नरहेको उत्तर अमेरिकामा फिफा बरियतामा तीन देश मात्र शिर्ष २० मा अटाउने गर्छन् । यस महदेशमा मेक्सिको, अमेरिका र कोस्टा रिका मात्र फुटबलका लागि लोकप्रिय मानिन्छन् । पछिल्ला बर्षहरुमा अमेरिकाले निकै राम्रा खेलाडीहरु जन्माए पनि यो सुचीका लागि उत्तर अमेरिकाका उत्कृष्ट खेलाडी हुन् कोस्टा रिकाका केलोर नाभास ।

रियल म्याड्रिड र पिएसजीबाट खेलेका नाभासले तीन च्याम्पियन्स लिग र एक ला लिगा जितेका छन् । २०१८ मा कोस्टा रिकालाई विश्वकपसम्म डोर्याउन नाभासले प्रमुख भुमिका खेलेका थिए ।

दक्षिण अमेरिका-लियोनेल मेस्सी (अर्जेन्टिना)

बार्सिलोना स्टार लियोनेल मेस्सी दक्षिण अमेरिकाका उत्कृष्ट खेलाडी हुन् । दक्षिण अमेरिकालाई फुटबलिङ हब मान्ने गरिन्छ । विश्वका उत्कृष्ट खेलाडीहरुले जन्म लिएको यो महादेश फुटबलको एक पवित्र भुमि हो । मेस्सीको गोल र असिस्ट हेर्ने हो भने पनि उनी दक्षिण अमेरिकाले अहिले सम्म पएको सबैभन्दा उत्कृष्ट फुटबलर हुन् ।

अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको उपाधि जिताउन नसके पनि मेस्सीले २०१४ को विश्वकपमा ’गोल्डेन बल’ जितेका थिए । उनले २०१८ को विश्वकपका लागि पनि एक्लैले अर्जेन्टिनालाई अगाडि बढाएका थिए । नेमार, रोनाल्डिन्हो र रोनाल्डो जस्ता खेलाडीहरुको नाम अगाडि आए पनि मेस्सीलाई उत्कृष्ट नमान्ने समर्थकहरु कमै हुने गर्छन् । युरोपमै आफ्नो कारीअर बनाए पनि उनी अर्जेन्टिना र यो महादेशले पाएको विश्वस्तरिय खेलाडी हुन् ।

अष्ट्रेलिया र ओसेनिया-आरोन मुया (अष्ट्रेलिया)

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी, हडर्सफिल्ड टाउन र ब्राइटनबाट खेलेका आरोन मुया अहिले भने चाइनिज सुपर लिग क्लब सांघाइ सिपिगबाट व्यवसायिक फुटबल खेल्दै छन् । मुष अष्ट्रेलियाले आजको दिन सम्म पाएको सबैभन्दा प्रतिभाशाली खेलाडी हुन् । यस महादेशमा अष्ट्रेलिया र न्युजिल्यान्ड बाहेक कमै देशले उच्च स्तरमा फुटबल खेल्ने गर्छन् । अन्य खेलाडीहरुको तुलनामा अष्ट्रेलियाले निकै राम्रो खेलाडीहरुको बिकास गर्ने गरेको छ र त्यस्कै उदाहरण हुन मुया ।

अन्टार्टिका

अन्टार्टिका मानव बस्ती नभएको महादेश हो । त्यसैले त्यहाँ फुटबल खेल्ने पेंग्विनले मात्र हो ।साभार वईस्पोर्टसबाट