रमित बि.क.
बाजुरा,असार, २५-
बडिमालिका नगरपालिका ९ उखाडीका १५ जना मुक्त हलिया बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । गरिब तथा विपन्न मुक्त हलियाका बालबालिकालाई लायन्स क्लब अफ बर्कली मकालु अमेरिकाको अध्यक्ष मनोहरा थापा बोगटीले शैक्षिक सामाग्री सहयोग गर्नु भएको हो ।
मुक्त हलिया पुर्नस्थापना जिल्ला समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सहीतको टोली बस्तीमै पुगेर बालबालिका र तीनका अभिभावकको उपस्थितिमा हस्तान्त्रण गरिएको हो ।
गरिब तथा विपन्न समुदायका बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धी गर्न प्रोत्साहनका लागि सामान्य खालको सहयोग गरिएको बोगटीले बताउनु भएको छ ।
क्लबमा आवद्ध २६ जना सदस्यले मासिक समीक्षा बैठकमा उठाएर १ रुपैया डलर संकलन गरेर दुर्गम बस्तीका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गर्न पाउँदा धेरै खुसी लागेको बोगटीले बताउनु भएको छ ।
नौ परिवार रहेको हलिया बस्तीका १५ जना बालबालिकालाई वर्षदिनलाई पुग्ने गरी शैक्षिक सामाग्री सहयोग गरिएको छ । प्रतिव्यक्ति झोला, छाता, ज्यामिती बक्स, पेन्सील, कलम, स्कुल पोशाक सहयोग गरिएको हो ।
शैक्षिक सामाग्री मुक्त हलिया पुर्नस्थापना जिल्ला समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटी, महिला विकास अधिकृत कमला शाही, प्रहरी निरीक्षक जगदिस भट्ट, पत्रकार अर्जुन शाह, प्रेम विक, लक्ष्मीराज पाध्याय सहीतले हस्तान्त्रण गरेका हुन् ।
वास्तविक सहयोग गर्नु पर्ने र खाँचो भएका समुदायलाई रोजेर सहयोग गरेकोमा प्रजिअ लामिछानेले बधाई दिनु भएको छ । सहयोगसँगै सँगै विदेशमा बसेर पनि नेपाल र नेपाली प्रति देखाएको माया नै ठूलो उपहार भएको बताउनु भएको छ ।
महिला तथा बालबालिकाका धेरै समस्या र पीडा छन्, सबैका समस्या संवोधन गर्न श्रोत साधनले सकिएको छैन्, विपन्न समुदाय त्यसैमा मुक्त हलियालाई रोजेर गरिएको सहयोग उल्लेखनीय र उदारणीय काम भएको महिला विकास अधिकृत कमला शाहीले बताउनु भएको छ ।
घरमै शैक्षिक सामाग्री पाएपछि बालबालिका सहीत आफन्त खुसी भएका छन् । फोटो खिच्न, कुरा लिन र नाम सोध्न मात्र आउथ्ये, आज छोराछोरीका आमा बुबा भएर आएको महशुस भयो, रतुडा महिला समुहकी अध्यक्ष समेत रहेकी स्थानीय रुपा चदाराले बताउनु भएको छ ।
चदाराकै अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो । क्लबले यस अघि क्यान्स पीडितलाई डेढ लाख बराबरको आर्थिक सहयोग कैलालीमा पनि गरेको थियो । अछाम घर भएकी अध्यक्ष मनोहरा थापा बोगटी आफन्त भेट्न आएकी थिईन् ।
श्रीमान दलबहादुर बोगटी जिल्ला प्रहरी कार्यालय बाजुरामा डिएस्पी पदमा कार्यरत रहनु भएको छ । गाउँमा बस्ने ९ वटै परिवार हलिया भएरपनि प्रामाणिकरणमा परेका छैन् । उनीहरुसँग बस्ने घर बाहेक अर्को कुनै जमिन छैन् । उक्त बस्ती पहिरोको पनि उच्च जोखिममा छ ।