नेपालले आज स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै

काठमाडौं,जेठ,२५-आईसीसी विश्व कप छनोटका लागि अन्तिम तयारीमा रहेको नेपालले आज पहिलो अभ्यास खेल खेल्दैछ।

दक्षिण अफ्रीकामा रहेको नेपाली टोलीले आज स्कटल्यान्डसँग र शनिवार नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्नेछ।नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे प्रिटोरियामा सुरु हुनेछ।अभ्यास खेल ५० ओभरको हुनेछ।नेपाली टोली अघिल्लो हप्ता मङ्गलवार दक्षिण अफ्रिका गएको थियो।

नेपाल दक्षिण अफ्रिकाबाटै जिम्बाब्वे जानेछ।जिम्बाब्वेमा हुने  विश्व कप छनोट प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ। सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ।नेपालको समूहमा आयोजक जिम्बाब्वे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् ।

असार ३ मा जिम्बाब्वेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ।समूह ‘बी’ मा  श्रीलङ्का, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन्।हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्।सुपर सिक्समा समूह ‘बी’ बाट आउने तीन टोलीले समूह ‘ए’ का तीन टोलीसँग खेल्नेछन्।त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्दै भारतमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।