जापान सरकारले सहर छाडेर ग्रामीण भेगमा बसाइँ सर्नेलाई १० लाख येन दिने

पाँच वर्ष सहरी क्षेत्रमा बसाइँ सर्न नपाउने

तस्विरमा : जापानको एक गाँउ

टोकियो,जापान,जेठ,३०-जापान सरकारले राजधानी टोकियो सहर छाडेर ग्रामीण भेगमा बसाइँ सर्ने परिवारलाई प्रतिसदस्य १० लाख येन दिने भएको छ ।

ग्रामीण भेगका घरहरू खाली हुने क्रम बढेपछि सरकारले टोकियो सहर छाडेर ग्रामीण भेगमा जानेहरूलाई १० लाख येन अर्थात् झन्डै सात हजार डलर दिने घोषणा गरेको छ।

सहरी क्षेत्र छाडेर ग्रामीण भेगमा जाने परिवारका कम्तीमा एक जना सदस्यले रोजगार गर्नुपर्ने वा ग्रामीण क्षेत्रमा आफ्नो व्यवसाय सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्नेछ।

ग्रामीण क्षेत्रमा बसाइँ सर्ने परिवार कम्तीमा आउँदो पाँच वर्ष सहरी क्षेत्रमा बसाइँ सर्न पाउने छैन ।

सरकारी तथ्याङ्कअनुसार जापानमा रहेका ८० लाखभन्दा धेरै घरमध्ये झन्डै १३ प्रतिशत खाली छन् । खाली घर सबै ग्रामीण क्षेत्रका हुन् । ग्रामीण क्षेत्रमा मानिस बस्ने घरमा पनि एउटा घरमा एक/दुई जनामात्रै रहेका बीबीसीले जनाएको छ ।

जापानमा जनसङ्ख्या घटिरहेको र मानिसहरू सुविधा खोज्दै सहरमा जाँदा ग्रामीण बस्तीहरू खाली हुने क्रम बढेको हो ।

ग्रामीण क्षेत्रमा रोजगार र उच्च शिक्षाको पर्याप्त अवसर छैन । यही कारण युवा पिढी राजधानी टोकियो र ओसाकाजस्ता ठूला सहरतर्फ आकर्षित भएका छन् ।

सन् २०१० मा १३ करोड रहेको जापानको जनसङ्ख्या सन् २०६० मा आठ करोडमा झर्ने अनुमान रहेको छ ।