देवनारायणका बाबुछोरालाई रिहाइको पहल गर्न सीडीओलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं,असोज,१६-

भारतीय प्रहरीद्वारा पक्राउ परेका सीमा बचाऊ अभियानकर्ता देव नारायण यादव र उहाँका छोरालाई छुटाउन गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले सप्तरीका  प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भएको छ ।

सप्तरी तिलाठीका देव नारायण यादव र उनको छोरा अजयलाई भारतीय प्रहरीको नियन्त्रणबाट रिहाईको पहल थाल्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भएको हो । उहाँले सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेलाई टेलिफोन गरी भारतीय अधिकारीहरुसँग समन्वय गरी यादवद्वयलाई यथाशिघ्र नियन्त्रण मुक्त गर्न निर्देशन दिनुभएको छ ।

गृहमन्त्री जनार्दन शर्मा

गृहमन्त्री शर्माले टेलीफोनमा भारतका प्रहरी प्रशासनसँग समन्वय गरेर जतिसक्दो छिटो रिहा गर्न भनेको बताउनुभयो । यदि त्यसरी भएन भने सरकारले कुटनीतिक पहल सुरु गर्ने गृहमन्त्री शर्माले बताउनुभयो ।

भारतीय प्रहरीले देवनारायण र उनको छोरा अजयलाई दुई दिनदेखि नियन्त्रणमा लिएर राखेको छ । देवनारायणको छोरा अजयले भारतीय युवतीसँग बिहे गरेको तर, भारतीय पक्षले युवतीलाई अपहरण गरेको भन्दै उजुरी गरेपछि भारतीयले उनीहरुलाई पक्रेको बताइएको छ । यादव बाबुछोरालाई सुपौल जिल्लाको बीरपुर थानामा राखिएको छ ।

गत वर्ष सीमा अतिक्रमण गर्दै खाँडो खोलामा बाँध बाध्न आएका भारतीयको यादवले प्रतिकार गरेका थिए । भारतीय पक्षसँगको झडपमा उनी घाइते समेत भएका थिए । त्यति बेलादेखि नै भारतीयले देवनारायणलाई निगरानीमा राखेको स्थानीय बताउँछन् । अपहरण गरेको भनेर भारतीय प्रहरीले फसाउन खोजेको तिलाठीका स्थानीय बासिन्दाको भनाइ छ ।