नेपालमा कोरोनाका कारण ६०० जनाको मृत्यु,थप २०५९ जनामा कोरोना संक्रमण

काठमाडौं,असोज,२३-नेपालमा शुक्रवार थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।योसँगै कोरोना संक्रमणबाट ६०० जनाको मृत्यु पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार बिहीवारसम्ममा नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ५३ जना रहेका छन् । हालसम्म क्वारेन्टाइनमा ४ हजार ७०३ जना रहेका छन् । हाल संस्थागत आईसोलेशनमा ११ हजार १७६ जना र होम आईसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् ।

हालसम्म नेपालमा ७३ हजार २३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।यसैगरी शुक्रवार १ हजार ६८० जना डिस्चार्ज भएका छन् ।

 त्यसैगरी विगत २४ घण्टामा १३ हजार २७९ ओटा पीसीआर परीक्षण गरिएको छ भने अहिलेसम्म कुल ११ लाख ४५ हजार २३७ ओटा पीसीआर परीक्षण भइसकेको छ ।

विगत २४ घण्टामा काठमाडौं उपत्यकाका १ हजार ४०९ जनालाई कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १ हजार ११६ जना, ललितपुर जिल्लामा १६३ जना र भक्तपुर जिल्लामा १३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता गौतमले घरमै बसेर विशेष किसिमले दर्शैतिहारजस्ता चाडपर्व मनाउन सकिने भन्दै समस्या परेमा  मात्र अस्पताल जान आग्रह गर्नुभयो ।