काठमाडौं,चैत,९-राष्ट्रपति विद्यादेवी भण्डारीसँग बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सोमबार बङ्गलादेशको राजकीय भ्रमणमा जानुभएका राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री हसिनाले राजधानी ढाकामा रहेको होटेल कन्टिनेन्टलमा भेटवार्ता गर्नुभएको हो ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसहित दुबै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ ।
यसअघि विदेशमन्त्री डा. मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेट गर्नुभएको थियो । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमवार बङ्गलादेश जानुभएको हो ।
नेपाल वायु सेवा निगमको विशेष विमानमार्फत ढाका उत्रनुभएका राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति हमिदले ढाकाको हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी अब्दुल हमिदसँग द्विपक्षीय भेटवार्ता गरेसँगै दुई देशबीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुनेछ ।