राष्ट्रियसभाबाट लिम्पियाधुरासहितको नक्शा सर्वसम्मत पारित

काठमाडौं,असार,४-राष्ट्रिय सभाले नक्शासम्बन्धी संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ ।विधेयकका पक्षमा सभाका ५८ मध्ये ५७ जनाले मतदान गरेका थिए ।

सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिएका हुन् । राष्ट्रिय सभाको एक जना सिट रिक्त छ । बाँकी सबै मतदानमा सहभागि भएर विधेयकको पक्षमा मत दिएका हुन् ।

फाईल तस्विर: राष्ट्रिय सभा परिसर

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे लगत्ते सबैले ताली बजाएर स्वागत गरेका थिए ।

त्यसअघि राष्ट्रिय सभामा रहेका दलका शीर्ष नेताहरुले विधेयकमाथि आ–आफ्ना धारणा राखेका थिए । कसैले संशोधन पनि दर्ता गराएका थिएनन् । दफावार छलफल सकिएपछि कानुन न्याय तथा संसदीय मामलामन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भनेर प्रस्ताव पेश गरेकी थिइन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको निशान छापमा रहेको नक्शा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक यसअघि प्रतिनिधि सभाले पनि सर्वसम्मत पारित गरेको थियो ।

राष्ट्रिय सभाले अब विधेयक पारित भएको सूचना प्रतिनिधि सभालाई दिनेछ । प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट पनि विधेयक पारित भएको सन्देश सुनाएर विधेयक सभाुमखबाट प्रमाणित गराई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछ ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप समेटिनेछ ।गत जेठ ७ गते सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक नक्शा जारी गरेको थियो ।