युक्रेनका दुई सहरमा रुसद्धारा युद्धविरामको घोषणा

रुसले युक्रेनका दुई सहरमा गर्‍यो युद्धविराम घोषणाकाठमाण्डौं,फागुन,२१-रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज १० औं दिन पुगेको छ।रुसले आम मानिसको सहायताका लागि भन्दै युक्रेनका मारिउपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्धविरामको घोषणा गरेको छ।

रुसको रक्षा मन्त्रालयले शनिबार बिहान १० बजेदेखि मानिसहरुलाई यी दुई सहरबाट सुरक्षितरुपमा जान दुई कोरिडोरहरु खुला गरिने जनाएको छ।

मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा युक्रेनका अधिकारीहरु पनि युद्धविरामको लागि सहमत भएको उल्लेख छ।यद्यपि युक्रेनको तर्फबाट भने यस विषयमा कुनै प्रतिक्रिया आएको छैन। 

यसअघि मारिउपोलका मेयर भादिम बोइचेन्कोले सहरका मानिसहरुलाई मानवीय सहायता आवश्यक परेको उल्लेख गरेका थिए।उनले सहरमा अहिले नाकाबन्दी र रुसी सेनाले निर्मम आक्रमण जारी राखेको उल्लेख गरेका थिए।

पछिल्लो केही दिनयता रुसको मारिउपोलमा रुसी सेनाले निरन्तर आक्रमण गर्दै आएका छन्।यद्यपि युक्रेनका अन्य केही सहरमा निरन्तर युद्ध चलिरहेको छ।