टि-ट्वान्टी विश्वकप छनोटमा नेपाल संग चीन ५० रनले पराजीत

काठमाडौं, मंसिर १०-

आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । १ सय ३ रनको लक्ष्य पछ्याएको चीनलाई १८ ओभर २ बलमा ५२ रनमै अलआउट गर्दै नेपाल विजयी भएको हो ।

नेपालको जितमा कप्तान रुबिना क्षेत्री र सबनम राईले समान ३–३ तथा सरिता राना मगरले २ र करुणा भण्डारीले एक विकेट लिए ।थाइल्याण्डको बैंककमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । चीनका लागि हान लीले १५ र सी जोऊले १० रन जोड्नुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आजको जितसँगै नेपालको ६ अंक भएको छ र विश्वकपको ग्लोबल छनोट खेल्न पाउने सम्भावना कायमै छ । आजका अन्य खेलमा हङकङ र युएई पराजित भए नेपाल विश्वकपको ग्लोबल छनोटका लागि छनोट हुनेछ । थाइल्याण्ड ७ अंकसहित पहिलो र युएई ६ अंकसहित दोस्रो स्थानमा छन् ।