१२ बजेसम्म ३० प्रतिसत मत खस्यो : निर्वाचन आयोग

काठमाण्डौं मंसिर,१०-

निर्वाचन आयोगले ३२ जिल्लामा भइरहेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको मतदान अपेक्षाकृत रुपमा शान्तिपूर्ण र उत्साहजनक रुपमा भइरहेको बताएको छ। निर्वाचनको केहि दिन बाँकी रहँदा केहि छिटपुट घटना घटेपनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले बताएको हो।

पहिलो चरणको निर्वाचनमा अधिकांश क्षेत्र दुर्गममा परेपनि त्यहाँ मतदाता विहानै देखि उत्साहजनक ढंगले मतदानमा सहभागी भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आयोगको आँकलनमा अहिले देशैभर ३० प्रतिशत मतदान भइसकेको छ।

३२ जिल्लामा भइरहेको निर्वाचनमा चार हजार ४६५ मतदान केन्द्रमा आजको पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको छ। पहिलो चरणको निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन्।