नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको ४ वर्ष पूरा,

नौ हजार भन्दा बढीको मृत्यु ,३१ जिल्लामा असर,पराकम्प अधै रोकिएन

काठमाण्डौं,बैशाख,१२-

नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको आज ४ बर्ष पूरा भएको छ ।४ बर्ष अघि आजैको दिन वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो ।

१८ हजारभन्दा बढीलाई घाइते बनाएको यो दिन निक्कै दुःखदायी र त्राशदीपूर्ण दिनको रुपमा मानिन्छ । वैशाख १२ गतेको भूकम्पबाट नेपालको १४ जिल्ला अतिप्रभावित बनेको थियो । त्यसको प्रत्यक्ष असर ३१ जिल्लामा पनि परेको थियो । नीजि घर तथा सरकारी भवन गरेर करिब नौ लाख घर तथा भवन काम नलाग्ने गरेर भत्किएको थियो ।

२०७२ सालको महाभूकम्पअघिको तुलनामा त्यसपछिका समयमा भूकम्प जाने क्रम बढेको छ ।भूकम्पविदहरुले भने अहिले आइरहेका कम्पनहरु भूकम्प नभएर आफ्टरशक अर्थात परकम्पनहरु रहेको बताएका छन् । ठूलो भूकम्पले दरार पैदा गरेको ठाउँमा जाने भूकम्पलाई परकम्प भनिन्छ भने ठूलो भूकम्पले प्रभाव नपारेको नयाँ ठाउँकोलाई भूकम्प भनिन्छ ।

गोर्खाको बारपाक

०७२ साल यताको चार बर्षमा झण्डै ४५ हजार परकम्प आएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसबीचमा कुनै महिना दिनहुँजसो धेरै संख्यामा र कुनै महिना दिन बिराएर परकम्प आउने गरेको छ ।भूकम्पविद्का अनुसार कुनै स्थानमा ठूलो भूकम्प गएपछि त्यहाँ धेरै बर्षसम्म निरन्तर निरन्तर साना स्केलका भूकम्प जाने गर्छ, जसलाई परकम्प भन्ने गरिन्छ । शक्तिशाली भूकम्पपछि सबै शक्ति बाहिर नआएको कारण पटक पटक भूकम्प जाने भूकम्पविद् बताउँछन् ।

नेपाल भूकम्पीय दृष्टिकोणले संवेदनशील क्षेत्रको रूपमा रहेको विज्ञहरुले बताउँदै आइरहेका छन् । नेपाल इन्डियन प्लेटमाथि रहेको र उत्तरमा रहेको युरेसिएन प्लेटसँग इन्डियन प्लेट जोडिएको ठाउँमा रहेको छ । यी दुई प्लेटबीच संघर्ष हुँदा नेपाललाई भूकम्पीय जोखिमयुक्त क्षेत्रका रूपमा लिने गरिएको छ । झन्डै पाँच करोड वर्षअघि दक्षिणको इन्डियन प्लेट उत्तरको युरेसिएन प्लेटसँग ठोक्किएको अध्ययनकर्ताको अनुमान छ । ईमेजखबरबाट