राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यद्वारा पद तथा गोपनियताको सपथ लिए

काठमाडौं,फागुन,२१-नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

संसद सचिवालयमा आज शनिबार भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

सपथ लगत्तै अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरुलाई सांसदको लोगो वितरण गर्नुभएको छ ।

सपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

चार वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० सांसद शुक्रबार बिदा भएका छन् । उनीहरुलाई शुक्रबार साँझ एक कार्यक्रम गरी बिदाई गरिएको छ ।

पदावधि सकिन लागेका १९ राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते भएको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए भने एमाले र राप्रपाले छुट्टै उम्मेदवार दिएका थिए ।

सातै प्रदेशमा भएको मतदानबाट १९ जना राष्ट्रिय सभा सदस्य थपिएका हुन् । महिलाबाट ७, दलितबाट ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट २ र अन्य समूहबाट ७ जना सदस्य निर्वाचित भएका हुन् । निर्वाचित नयाँ सदस्यहरूको कार्यकाल ६ वर्षको हुनेछ ।

१९ सिटमध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी भए भने एक सिट एमालेले रक्षा गरेको छ । प्रदेश एकबाट एक जना उम्मेदवारले एमालेबाट चुनाव जितेका छन् । यो सँगै एमालेले सकिन लागेको आफ्नो कोटाको ८ मध्ये १ सिटमात्र जोगाउन सफल भएको हो । बाँकी ७ सिट गुमाएको छ ।

एमालेले गुमाएको सात सिट गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पाएका छन् ।जसमध्ये कांग्रेसले ३, माओवादी केन्द्र र एकीकृत समाजवादीले १–१ र जसपाले १ सिट बढाएका छन् । राष्ट्रिय जनमोर्चाले पनि एक सिट पाएको छ ।

यति हुँदा पनि राष्ट्रिय सभाको ठूलो दल भने एमाले नै कायम रहनेछ । राष्ट्रिय सभामा एमालेको अब १७ सिट भएको छ । राष्ट्रिय सभामा दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र हो । उसको १५ सिट पुगेको छ । तेस्रो ठूलो दल रहेको कांग्रेसको १० सिट पुगेको छ ।