ओखलढुंगामा आत्महत्या गर्नेहरुको संख्या बढ्यो

सिर्जना बर्देवा/
ओखलढुंगा,पौष,२५-
जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेको संख्यामा उल्लेख्य मात्रामा बृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो पाँच बर्षको अवधिमा १ सय४८ जनाले आत्महत्या गरेका छन् ।

तीमध्ये सबैभन्दा बढि एकसय जनाले झुण्डिएर आत्महत्या गरेको तथ्यांकले देखाएको छ । आत्महत्या गर्नेमा १२ देखी ३० बर्ष उमेर समुहका रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक टिका कार्कीले बताए ।

आर्थिक बर्ष २०७०–०७१ मा आत्महत्या गर्नेहरुमा झुण्डिएर २० जना, हामफालेर १ जना र बिष सेवन गरेर ७ जनाले आत्महत्या गरेका छन् । त्यस्तै आर्थिक बर्ष ०७१–०७२ मा ९ जना झुण्डिएर र ५ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् त्यस्तै २०७२–०७३ मा २० जनाले झुण्डिएर, ६ जनाले बिष पिएर र १ जनाले अज्ञात ढंगले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै २०७३–०७४ २१ जनाले झुण्डिएर, ९ जनाले विष सेवन गरेर र १ जनाले हामफाली आत्माहत्या गरेको तथ्यांक पाइएको छ । त्यस्तै यो वर्षको पछिल्लो ६ महिनाको अवधिमा भने झुन्डिएर १४ र बिष सेवन गरी ४ जनाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ । पछिल्लो चार बर्षको अवधिमा भवितब्यमा परी ८३ जनाले ज्यान गुमाएको प्रहरीको दाबी छ ।

जिल्लामा आत्महत्याका घटना बढ्नुमा सामाजिक एकीकरणको भूमिका महत्वपूर्ण हुने समाजशास्त्री दिपेश घिमिरले बताउँनुभयो । आत्महत्या विशेषगरी गाउँमा भन्दा सहरी क्षेत्रमा बढी मात्रामा हुने गरेको उनको बुझाई छ ।

आत्महत्यालाई रोक्न सामाजिक रुपमा ऐक्यबद्धता बढाउन जरुरत रहेको घिमिरेको दाबी छ । बेला–बेलामा समुदायमा रहेका स्वास्थ्य चौकीहरुले पनि मानसिक स्वास्थ्यसम्बन्धी परामर्श दिन जरुरी रहेको उनले बताए । आत्महत्या गर्ने व्यक्तिले पहिलेनै केही लक्षणहरु देखाउने गरेको उनको भनाई छ ।