खोटाङमा प्याराग्लाइडिङको सफल परिक्षण

सिर्जना बर्देवा/
ओखलढुंगा,पौष,२५-

खोटाङको दिप्रुङ गाउँपालिकामा प्याराग्लाइडिङको सफल परिक्षण गरिएको छ । पर्यटन प्रवर्धन गर्दै गाउँमा स्वरोजगारको वातावरण निर्माण गर्नका लागि दिप्रुङ गाउँपालिकाले मंगलबार बतासेको भीरचुङ्मा डाँडाबाट प्याराग्लाइडिङको सफल परिक्षण गरेको हो ।

भीरचुङ्मा डाँडाबाट उँडेको प्याराग्लाइडर बतासेकै सुनकोसी किनारमा रहेको सानो भँडारेघाटमा झार्ने गरी प्याराग्लाइडिङको सफल परिक्षण गरिएको दिप्रुङ गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।

प्याराग्लाइडिङ र्र याफ्टीङका माध्यमबाट गाउँपालिकामा भित्रिने पर्यटकलाई दिप्रुङ गाउँपालिका–६, छितापोखरी र दिप्रुङ गाउँपालिका–७, टेम्माकोबीचमा रहेको धिप्लुङ झरनासम्म र्पुयाउने र ओझेलमा परेको झरनाको पर्यटन प्रवर्धन गर्ने लक्ष्य राखिएको छ ।

बतासेको भीरचुङ्माडाँडाबाट एकैसाथ चार वटा प्याराग्लाइडरले प्याराग्लाइडिङ उडान भरेका थिए । बतासेको भीरचुङ्माडाँडामा प्याराग्लाइडिङको सम्भावना बलियो प्रमाणित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका एटिसी अफिसर मुकेश डंगोलले बताउनुभयो ।