सुनको मुल्य अहिले सम्मकै बढी, तोलाकै एक लाख नजिक

फाईल तस्विर !!

काठमाडौं,साउन,१५-नेपाली बजारमा सुनको मोलले आकाश छोएको छ ।आमसर्वसाधारणका लागि सुन लगाउने होइन हेर्ने धातुका रुपमा मात्रै सीमित हुने अवस्था देखिँदैछ ।

एक तोला सुनकै मूल्य एक लाख नजिक पुग्दा सामान्य आय भएकाहरुले जिब्रो काढ्नु पर्ने अवस्था भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेसँगै तोलाको मोल एक लाख छुन लागेको छ ।

अघिल्लो दिनको तुलनामा तोलामै पाँच सय रुपैयाँले सुनको भाउ बढेको महासंघले जनाएको छ ।

यसैगरी तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ ।चाँदीको भाउ भने प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।