काठमाण्डौं,कार्तिक,१९-तिहारको चौथो दिन आज शुक्रबार गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ।आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ ।गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ ।
यसैले आजको दिनलाई गोरु तिहार र हलीतिहार समेत भन्ने गरिन्छ ।आज गाई, गोरु र हलीलाई समेत मीठा कुरा खान दिइन्छ ।गोवर्धन पूजाको दिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ । देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको पौराणिक भनाई छ ।
आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरूलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।
संस्कृतमा गौ भनेको गाई हो ।त्यसैले गोवर्धन,गोकुल,गोपाल यी शव्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ भन्ने धार्मित विस्वास रहि आएको छ ।