तिहार पर्व मलाई औधी मन पर्छ, सम्झनामा बाल्यकालको देउसी-भैलो

बाल्यकाल जतिको मनोरञ्जन आजका भिडियो गेम,चलचित्र आदिमा सायदै पाउन सकिन्

फाईल तस्विर !!

जापान,कात्तिक,१८-तिहार पर्व मलाई औधी मन पर्छ ! तिहार हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । तिहारलाई झिलीमिलीको पर्व अर्थात उज्यालोको पर्व पनि भनिन्छ ! तिहार दशैंको पन्ध्र दिनपछि आउने पर्व हो ।

यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रूपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् । यस पर्वको नाम हिन्दी शव्दको त्योहार शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। यसलाई दीपावली अनि “दिवाली” नामले पनि चिन्ने गरिन्छ।पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरू छन् ।

यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ । यसरी रहँदा–बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर माग“ भन्दा यमुनाले “हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी-भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्“ भन्ने वरदान मागिन्। यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारमा पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै दिदिबहिनीले दाजुभाईलाई टिका लगाई सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।

“ मेरो बाल्यकालको देउसी-भैलो !”

यतिबेला म सात समुन्द्रवारी बसेर त्यही तिहारको मौसम त्यो बेलाका साथीहरुलाई सम्झन पुगेको छु, जो मेरो बाल्यकालका माया, प्रेम र सद्भाव थिए । उनीहरूको नामहरुसित मेरो नाम जोडिएर नै हाम्रा अभिभावकका मनमा नामहरुको फेहरिस्त पूरा हुने गर्दथ्यौ।हुनत, तिहारमा खेलिने देउसी-भैलो मन नपर्ने सायदै कमै मान्छे होलान्। मलाई चाडपर्व मध्य तिहार औधी मन पर्ने पर्व हो ।

सानो छँदा तिहार आउनु पुर्व देउसी-भैलो खेल्नका लागि बजाउनमा प्रयोग गरिने मादलमा खरी लगाउने, झ्याली, बाँसुरी,जस्ता विभिन्न साँस्कृतिक सामानहरुको जोहो गरिन्थ्यो! देउसी भैलो खेल्न जाँदा कोही भट्याउने, कोही गीत गाउने गथ्र्याौ। त्यसले मनमा बेग्लै आनन्द हुन्थ्यो।त्यो बेला गाँउघर तिर देउसी भैलोमा गाईने झ्याउरे लोकभाका अझै पनि याद छ ।…. खुट्टामा निल परे पर्ला झाम्रेमा ननाची छोड्दैन् जस्ता थुप्रै झाम्रे गितमा मादलको तालमा ताल मिलाई नाच्नुको आनन्द बेग्लै थियो ।

देउसी भैलो भट्याउनमा म सानै देखि अग्रपंत्तीमा उभिन्थे, मैले भट्याउदा गाँउका बुढापाका बाजे,बजैहरु अत्यन्तै सुन्नमा लालाहित हुने गर्थे,पिढीमा बसि गालामा हात राखेर सुनेको अझै पनि ति बाजे बजैहरुलाई आखाँ अगाडी झल्झल्ती देखिरहन्छु। उनीहरुले दिएको कात्तिके दक्षिणा पाँच रुपैयाँ किन नहोस् कति महंगो लाग्दथ्यो, …ल नाती नातीनीहरु सबै घरमा यसरी नै राम्ररी खेल्दै जानु भन्दै आशिष अर्ती उपदेश दिदै देउसी भैलोलाई बिदाई गरि पठाउनु हुन्थ्यो । अहिले ति अधिंकाश बाजे बजैहरुले हिमीलाई छोडेर जानुभयो, उहाँहरुको स्वर्गबास होस् यहि कामना गर्छु ।

सबैभन्दा धेरै यादगार हुने नै बाल्यकालको पल रहेछ। त्यो बेलामा खेलिने देउसी-भैलो, त्यसबाट संकलन भएको चामल, सेलरोटी, फलफूल अनी कमाएको पैसा बाँड्दा, कसले के किन्ने भन्ने हुन्थ्यो। बाल्यकालको अवस्थामा मन ज्यादै फुरुङ्ग हुने गर्दथियो ।तिहार आउँदा देउसी-भैलो खेल्ने साथीको सम्झना अहिले पनि उस्तै आउँछ। तिहारको दिन टिका ग्रहण गर्दा भरुवा बन्दुक पड्काएर यात पट्का पड्काएर यदि त्यो पनि भएन भने काठमा किलाले हल्का थोकेर त्यसमा सलाईको काँटी हालेर भएपनि पड्काईन्थ्यौं, र टिका लगाउन सुरु गरिन्थ्यौ।

दशैं आउनु पुर्व रातो माटो र सेतो कमेरोले लिपपोत गरेर घरहरु सजाईन्थे, तिहारको बेला घरको वरिपरी सयौं मैनबत्तीहरु बालेर झिलीमिली बनाईन्थ्यौ । आजभोली ति दिनहरु फेरिएका छन् । पुराना कच्ची घरहरु पक्की घर भएका छन् । रातो माटो र सेतो माटोको सट्टा विभिन्न किसिमका कलरहरुको प्रयोग भएका छन् । तिहारमा बालिने मैनबत्तीको सट्टा ईलोक्ट्रोनिकका थरिथरिका बिजुली बत्तीहरुले रातभरी गाँउ झिलीमिली पारिन्छ ! 

त्यो बेला पौराणीक कहाँनी सहित देउसी-भैलो भट्याईन्थ्यौ, भट्याउदा घरको मुलीलाई खुशि तुल्याउने गरि सद्भाव सम्मान पुर्वक शिष्ट भाषाहरुको प्रयोग गरि लय मिलाई भट्याईन्थ्यौ,लक्ष्मी पूजाको दिन देउसी-भैलो आउदा घरमुलीलाई पनि लक्ष्मी नै घरमा आएको अनुभुती हुने गर्दथियो ! ऊ बेला कहि कतै देउसी-भैलो आएन भने घरमुलीका आमाबुवाहरुले अतिनै खिन्नता बोध भएको मान्दथे,तिहार नै खल्लो भएको कुरा सुनाउथेँ ।

तर अहिले त्यस्तो छैन् भट्याउदा ठाडो भाषा प्रयोग हुँदै गएको छ, अहिलेका देउसी-भैलोको हर्कत देखेर कतिपय घरमुलीहरुले चोर आएको अनुभव गर्न थालिसकेका छन् ,त्यसैले सबैले देउसी भैलो खेल्दा शिष्ट भाषा प्रयोग गर्न अति जरुरी छ । 

पहिले देउसी-भैलो खेल्दा दक्षिणा हुनेले आफुखुसी दिन्थे भने नहुले फलफूलै दिएर भएपनि खुशी हुदै खुशी पार्थे,अहिलेका देउसी-भैलोमा दक्षिणा माग्ने कुरामा विकृती बढेको छ, दक्षिणा पनि तोकेरै माग्ने चलन बढेको छ, पुराना ति रितिरिवाजमा चलिआएको संस्कृतिक झल्को दिने खालको नृत्यहरु गरिदैनन्, अहिले सबै बुफर साउण्ड स्पिकरमा गित बजाएर डिस्को डान्स गरिन्छ । तर के गर्नु समय अनुसार स्विकार नै पर्छ ।

पहिलेको पो तिहार अहिलेको त के तिहार,पहिले पो रमाईलो अहिले त के रमाईलो भनेता पनि अहिले समय बदलिएको छ। समय संगै हिड्नु छ, उहिलेका बच्चाहरुले चङ्गा उडाएर रमाईलो गर्थे भने अहिलेका बच्चाहरुले ड्रोन उडाएर रमालो गर्ने समय आएको छ । समयले धेरै फड्को मारिसकेको छ ।यहि फरकता छ अहिले र पहिलेका दिनहरुमा !!

अहिले तिहारमा साथी बटुलेर देउसी भैलो खेल्न जाउँ भन्ने लागेता पनि संगैका दौतरीहरु नहुदाँ खेलिदैन, अरु खेलेको हेरेर भएपनि रमाइलो गरिन्छ।पहिला र अहिलेमा अलिक फरक हुने रहेछ। त्योबेला फुर्सदिलो थिए, अहिले व्यस्त भइयो। पहिला आफू देउसी खेलेको मन पथ्र्यौ भने अहिले अरुले देउसी खेलेको हेरेर भएपनि रमाईलो गरिन्छ,त्यो पनि विदेशको ठाँउमा देउसी भैलो खेल्न सम्भव छैन।

म सानोमा एकदमै लज्जालु, अन्तर्मुखी तर विद्रोही स्वभावको थिएँ । विद्रोही यसअर्थमा कि मलाई चित्त नबुझेको विषयमा खुलेर विचारको लाडाई गर्न पछि पर्दिनथेँ । तर पनि सानोमा मेरा धेरै साथी थिए । र, ती घनिष्ठ थिए । उमेर बढ्दैजाँदा साथीहरुको सङ्ख्या घट्दै गयो ।समय संगै सबै साथीहरु बद्लीएका छन् ।मेरा पनि नयाँ ठाँउ नयाँ साथिहरु भएका छन् । तर पनि बाल्यकालको ति रमाईला दिनहरुको यादगार आउदो नै रहेछ ।

वास्तवमा मेरो बाल्यकालका स्मृतिहरु त्यस्तै विकटतामा बितेको थियो। जहाँ मैले टुकी बालेर, मट्टितेल सकिदा ति सल्लाहका दियाँलो बालेर सिलेटमा खरिले लेखेर समेत पढेँ, आज ति दिनहरुका सम्झना झलझल्ती आईनै रहन्छ !

त्यो समयमा खोला खोल्सीमा ग्याटिसको गुलेली बोकेर चरा मार्न जानु, खोलाको पानी थुनेर पौडी खेल्नु, भरुवा बन्दुक बोकेर बाँदर खेदाउनु, अंरिगालको गोलामा आगो लगाएर झार्नु, यी जतिको मनोरञ्जन आजका भिडियो गेम, चलचित्र आदिमा सायदै पाउन सकिन्न । गोठालो गर्दै ति उकाली ओरालीमा दौडनु, सुसेल्नु, खोला खोल्सी थर्किने गरी गीत गाउनु, त्यसमा कोईली चरिको सुमधुर स्वरमा कुहुकुहको आवाजले मन चङ्गा जसरी उडिनै रहन्थ्यौ ।क्या मज्जाले मन कवित्व भएको पत्तो हुदैन् थियो ।यी जतिको आनन्द कुनै कुरामा छ त त्यो गाँउमै छ ।त्यसैले म जतिसुकै संसारभरी घुमेपनी म जन्मेको मलाई हुर्काएको मेरो जन्मभुमीको माटो, त्यहि ठाँउको मूलको पानीले प्यास मेटाउछ, र पो मलाई मेरो जन्मभुमी गाँउ प्यारो लाग्छ।

त्यो विकटतामा मलाई कम्ती सुख थिएन । केटाकेटीलाई खान लाउन भएपछि अरु केही चाहिन्न जहाँ केही पाइन्न । गोजीमा एक दुई रुपैँया पनि आक्कल झुक्कलमा हुन्थ्यौ त्यो पनि तिहार आउदा ! एक रुपैँयामा ४ वटा सुन्तला टफि किन्न पाईन्थ्यौ । आहा बाल्यकालको अबस्था क्या रमाईलो थियो घगी ॥

न्तमा: सारा संसारभरी यत्र तत्र रुपमा छरिएर बस्नु भएका आम नेपालीजन आमाबुवा, दाजुभाई, दिदिबहिनी तथा आफन्तजन, ईष्टमित्र, साथीभाई लगायत सबैको सु-स्वस्थ्य एवंम दिर्घायुको उत्तर उत्तर प्रगतीको कामना गर्दै शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ! धन्यवाद !!

दुर्लभ सारु मगर
हाल : जापान
नेपाल घर : कैलाली
जन्मस्थान : डोटी