‘ए’ डिभिजन लिग : मनाङ र आर्मी बराबरीमा रोकिए,पुलिसलाई हराउदै एनआरटीमाथि तेस्रो बन्न सफल

काठमाडौं,फागुन,१४-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा मनाङ मर्स्याङ्दीलाई बराबरीमा रोक्दै त्रिभुवन आर्मी क्लबले दोस्रो स्थान पक्का गरेको छ ।

अन्तिम लिग खेलमा मनाङसँग १-१ गोलको बराबरी खेलेपछि आर्मीले दोस्रो स्थान पक्का गरेको हो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा मनाङका कप्तान अन्जन विष्टले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, खेलको ७६ औं मिनेटमा मनाङका डिफेन्डर फ्रान्कलिनले आत्मघाती गोल गरेपछि आर्मीले १–१ गोलको बराबरी गरेको हो । यस बराबरीसँगै आर्मीले १३ खेलमा २३ अंक जोड्यो । मनाङले १३ खेलमा २१ अंक जोड्यो । मनाङले पाँचौं स्थानमा रहदै लिगको अन्त्य गरेको छ ।

शनिबार नै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ ले हराउँदै न्यूरोड टिम एनआरटी लिगको तेस्रो स्थानमा रहन सफल भयो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक गोलको अग्रता उल्टाएर एनआरटीले जित निकालेको हो ।

एनआरटीलाई जित दिलाउन मेसुके ओलोमोउले ह्याट्रिक गोल गरे । यस जितसँगै एनआरटीले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको छ । एनआरटीले १३ खेलमा २३ अंक जोड्यो । समान अंक भए पनि ‘हेड टु हेड’का आधारमा आर्मी लिगको दोस्रो स्थानमा रहयो । १२ अंक जोडेको पुलिस ११ औं स्थानमा रहेर लिगको अन्त्य गर्यो ।

लिगको अन्तिम खेल च्याम्पियन बनेको मच्छिन्द्र फुटबल क्लबले विभागीय टोली एपीएफ विरुद्ध यो समाचार तयार पार्दा सम्म एक गोलले अग्रता गरेको छ ।