नेपालीको महान् पर्व दशैं सुरु, पहिलो दिन घर-घरमा घटस्थापना गरिँदै

फाईल तस्विर !!

काठमाडौं,असोज,१७-हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडा दशैं आज (बिहिवार)देखि सुरु भएको छ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धुमधामका साथ मनाइन्छ।

बडा दशैंको पहिलो दिन आज घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ।गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।

आजैदेखि दशैंघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ।

दशैंलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ। जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको अध्यक्ष गौतम बताउँछन्।यद्यपि, कुल, परम्परा र स्थान विशेषअनुसार जौसँगै अन्य अन्न पनि रोप्ने चलन छ।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ।यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ। विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो।आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ।

दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा हुन्छ। महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य एवं महासरस्वतीलाई विद्या तथा वुद्धिको प्रतीकको रुपमा लिइ पूजा गर्ने चलन रहिआएको छ।दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ।

बडा दशैंको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ।महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैंघर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन्।नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ गरिन्छ।

यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शनार्थीको भीड लाग्छ।

 

आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक ७ गते गते विजया दशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र प्रसाद ग्रहण गर्ने गरिन्छ। 

विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ। पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ।

यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ। आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा विसर्जन गरिन्छ।