जर्मन कपको उपाधि बायर्नले जित्यो

काठमाडौं,असार,२१-बुण्डेसलिगा च्याम्प्यिन बनिसकेको बायर्न म्यूनिखले जर्मन कपको उपाधि पनि जितेको छ । गएराति बर्लिनमा भएको फाइनलमा बायर लेभरकुजनलाई ४-२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

फाईल : तस्विर

खेलमा दुई गोल गरेका बायर्नका फरवार्ड रोवर्ट लेवान्डोस्कीले यस सिजन ५० गोल समेत पूरा गरेका छन् । ओलम्पिक स्टेडियममा भएको खेलको १६औं मिनेट डेविड अलावाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा सर्जी जीनाब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । पहिलो हाफमा बायर्नलाई सोही अग्रतालाई कायम राख्यो ।

५९औं मिनेटमा लेवान्डोस्कीले बायर्नका लागि तेस्रो गोल गरे । ६३औं मिनेटमा लेभरकुजनका स्भेन बेन्डरले गोल गोल गर्दै गोल अन्तर कम पार्ने प्रयास गरे । तर ८९औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नले ४-१ को अग्रता बनायो । ९०औं मिनेटमा लेभरकुजनका काई हाभार्टले पेनाल्टीमा गोल फर्काए ।

यस जितपछि बायर्नले अपराजित यात्रालाई २६ खेलसम्म पुर्‍याएको छ । यस्तै सबैखाले प्रतियोगितामा गरी बायर्नको यो लगातार १७औं जित पनि हो । बायर्नले २०औं पटक जर्मन कप जितेको हो ।दुई गोल गरेका लेवान्डोस्कीले यस सिजन ४४ खेलमा ५१ गोल गरिसकेका छन् ।